
काठमाडौं, असार ३
‘द भ्वाईस अफ नेपाल’ सिजन ६ का फस्ट रनरअप रोशन राईको स्वरमा ३५ वर्ष पुरानो सदाबहार गीत ‘धोका दियौ तिमीले’ नयाँ संस्करणमा सार्वजनिक गरिएको छ। राजधानीको दरबारमार्गस्थित क्युएफएक्स हलमा आयोजित एक भव्य कार्यक्रमबीच लुङ्टो क्रियशनको प्रस्तुति रहेको गीत सार्वजनिक गरिएको हो। उक्त गीतको म्युजिक भिडियो लुङ्टो क्रियशनको युट्युब च्यानलमार्फत पनि सार्वजनिक भइसकेको छ।

गीतमा संगीत वरिष्ठ संगीतकार तथा प्राज्ञ शान्तिराम राईको रहेको छ भने शब्द वरिष्ठ गीतकार बुद्धवीर लामाको हो। ३५ वर्षअघि मेल भर्सनमा सरोज कुमार श्रेष्ठ र फिमेल भर्सनमा गायिका सुक्मित गुरुङले स्वर दिएका थिए। नयाँ संस्करणमा रोशन राई र गायिका मेलिना राईको स्वर रहेको छ। गीतको एरेन्ज देवेश राईले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ किश्वर थापाले गरेका छन्। यस गीतमा दिवंगत विक्रम राईले एडिसनल संगीत दिएका थिए।

कार्यक्रममा बोल्दै प्राज्ञ शान्तिराम राईले ३५ वर्षअघिको संघर्ष सम्झिँदै भने, “धोका दियौ तिमीले गीत काठमाडौंको बसाइ, संघर्ष र अभावको पृष्ठभूमिमा जन्मिएको थियो। यो गीत अहिले तीन पुस्तामाझ लोकप्रिय बनेको छ।”
त्यस्तै, गायक रोशन राईले आफूलाई यस्तो ऐतिहासिक गीत गाउने अवसर दिएकोमा शान्तिराम राईप्रति आभार व्यक्त गर्दै भने, “गीत मात्रै होइन, यो मेरो लागि जिम्मेवारी हो।”
कार्यक्रमको सञ्चालन ‘द भ्वाईस अफ नेपाल’का सञ्चालक तथा लोकप्रिय होस्ट सुशिल नेपालले गरेका थिए। उनले रोशनको गायनसंगै अभिनयको पनि प्रशंसा गरे।
गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक राजेश पुमा राईले निर्देशन गरेका छन्। प्रेम र धोका भाव प्रस्तुत गरिएको भिडियोमा केकी अधिकारी र रोशन राईको दमदार अभिनय देख्न सकिन्छ। यो म्युजिक भिडियोमार्फत रोशनले अभिनयमा पनि डेब्यू गरेका छन्, जसले दर्शकको प्रशंसा बटुलिरहेको छ।
बाल्यकालदेखि नै संगीतमा सक्रिय रोशनले २०६० सालमा पहिलो गीत रेकर्ड गरेका थिए। हालसम्म उनले १,००० भन्दा बढी गीतमा स्वर दिएका छन् भने ४ वटा एल्बम र १०० भन्दा बढी संगीत रचना सार्वजनिक गरिसकेका छन्। ‘मेरो प्यारो खोटाङ’, ‘तिमी सित माया गर्दा’, ‘जीवनमा एउटै’ लगायतका उनका गीत लोकप्रिय छन्।
गीतको नयाँ संस्करणले पुरानो स्वादलाई आधुनिक भावमा प्रस्तुत गर्दै संगीतप्रेमीहरूलाई पुराना दिनहरूमा फर्काएको छ।
SONG LINK : https://www.youtube.com/watch?v=gIW_LIObXbw





