‘काठमाडौं फेसन वीक’को व्यवस्थापन अब नेक्स्ट मोडल्स नेपाललाई



काठमाडौं ।
देशकै चर्चित फेसन शो ‘काठमाडौं फेसन वीक’ अबदेखि नेक्स्ट मोडल्स नेपालको व्यवस्थापनमा सञ्चालन हुने भएको छ। फेसन डिजाइनरहरूको संस्था ‘फेसन डिजाइनर सेन्टर (एफडीसी) नेपाल’ र नेक्स्ट मोडल्स नेपालबीच आगामी सिजनदेखि सहकार्य गर्ने सम्झौता भएसँगै शोको सम्पूर्ण व्यवस्थापन जिम्मा नेक्स्ट मोडल्स नेपालले लिएको हो।

एफडीसी नेपालले गत वर्षदेखि हरेक वर्ष दुईपटक ‘काठमाडौं फेसन वीक’ आयोजना गर्दै आएको छ। नेपाली संस्कृति, परम्परा र पर्यटन प्रवद्र्धनमा केन्द्रित यो शोमा केवल नेपाली डिजाइनर र मोडलहरूको सहभागिता रहने गरेको छ।

नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले अबको संस्करणलाई नेपालकै सबैभन्दा भव्य र स्तरिय फेसन शो बनाउने योजना रहेको बताए। “हामीले अघिल्ला कार्यक्रमहरूमा देखाएको कार्यशैली र गुणस्तरका आधारमा एफडीसीले हामीमाथि विश्वास गर्दै यो जिम्मेवारी दिएको हो,” उनले भने, “यसलाई नयाँ उचाइमा पुर्‍याउन हामी सम्पूर्ण प्रयास गर्नेछौं।”

नेक्स्ट मोडल्स नेपालले यसअघि ‘मिस्टर नेपाल’, ‘मोडल हन्ट नेपाल’, ‘मिस नेपाल पिस’ र ‘डिजाइनर्स रनवे’जस्ता चर्चित कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

‘काठमाडौं फेसन वीक’को आगामी सिजनको औपचारिक घोषणा केही दिनभित्रै विशेष कार्यक्रममार्फत गरिने आयोजकहरूले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्