
काठमाडौं — नेपाल ओलम्पिक कमिटी र यससँग आवद्ध विभिन्न खेल संघहरूको आयोजनामा ओलम्पिक डे २०२५ तीन दिनसम्म मनाइने भएको छ।
कमिटीका उपाध्यक्ष तथा ओलम्पिक डे आयोजक समिति प्रमुख अशोकरत्न वज्राचार्यको अध्यक्षतामा शुक्रबार बसेको बैठकले आगामी जुन २१ देखि २३ सम्म विविध कार्यक्रमसहित ओलम्पिक डे मनाउने निर्णय गरेको हो।
बैठकमा सहभागी विभिन्न खेल संघहरूले आफू–आफ्ना तर्फबाट आयोजना गरिने कार्यक्रम प्रस्तुत गरेका थिए। प्याब्सन र एन–पाब्सनका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त बैठकमा यी संस्थाहरूले पनि ओलम्पिक डेको अवसरमा आ–आफ्ना कार्यक्रम गर्ने जनाएका छन्।
तयारी बैठकमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठको पनि उपस्थिति थियो।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (IOC) ले जुन २३ लाई ‘ओलम्पिक डे’ को रूपमा मनाउने निर्णय गरेअनुसार विश्वभर विविध कार्यक्रम हुँदै आएको छ। नेपालले सन् २०११ देखि ओलम्पिक डे मनाउँदै आएको हो।