
काठमाडौं।
एशिया मोडल फेस्टिवल अन्तर्गत हुने ‘फेस अफ नेपाल २०२५’ का लागि आवेदन फर्म खुला गरिएको छ। आयोजक संस्था एमएस प्रोडक्सन नेपालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि अनलाइन फर्म भर्न सकिने जानकारी दिएको हो।
यस संस्करणका लागि आयोजकले प्रतियोगी छनोटसम्बन्धी केही मापदण्डमा परिवर्तन ल्याएको छ। प्रमुख रूपमा यसपटकदेखि पुरुष र महिलाका लागि उचाइसम्बन्धी कुनै मापदण्ड नराखिएको बताइएको छ। अघिल्ला वर्षहरूमा उचाइको न्यूनतम सीमा तोकिएको थियो, तर अब जुनसुकै उचाइका इच्छुक प्रतिभाहरूले भाग लिन सक्नेछन्।

फेस अफ नेपालकी नेशनल डिरेक्टर मेनुका माझीका अनुसार, उचाइका कारणले प्रतिभाशाली इच्छुकहरू पछाडि पर्न नपरोस् भन्ने उद्देश्यले यो मापदण्ड हटाइएको हो। यद्यपि प्रतियोगीको उमेर भने १८ वर्षदेखि ३० वर्षभित्रको हुनुपर्ने सर्त यथावत् राखिएको छ।
यसपटकको संस्करणमा कोरियोग्राफरको रूपमा दिक्पाल कार्की थपिएका छन्।
पत्रकार सम्मेलनमा ‘फेस अफ नेपाल २०२४’ का विजेता हिमाञ्चल राज केसी र टिना परियार पनि उपस्थित थिए। उनीहरूले प्रतियोगिता जितेपछि आफ्नो जीवनमा आएको परिवर्तन र अनुभवहरू साझा गरेका थिए।





