‘गतिशील भौतिकवाद’ सार्वजनिक: विचार र विज्ञानको संगम



काठमाडौं, २३ जेठ

सशस्त्र प्रहरी नायव निरीक्षक नन्दराज जोशी (लेखन नाम: मानव प्रकृति) द्वारा लिखित ‘गतिशील भौतिकवाद’ नामक पुस्तक शुक्रबार रिपोर्टर्स क्लब नेपालमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। उक्त पुस्तकलाई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विमोचन गरे।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी भएका खनालले लेखक जोशीलाई पुस्तक प्रकाशनको लागि बधाई ज्ञापन गर्दै यो कृति नेपाली चिन्तनको जगतमा नयाँ बहसको ढोका खोल्ने सम्भावना बोकेको बताए। उनले भने, “यो पुस्तकले हाम्रो विचार विश्वमा नयाँ विमर्शको थालनी गर्नेछ। नेपाली समाजका गहिरा पक्षमा वैज्ञानिक दृष्टिकोणबाट छलफल गर्न सक्ने अवसर सिर्जना गर्नुभएको छ, धन्यवादका पात्र हुनुहुन्छ।”

डॉ. सुरेशकुमार ढुंगेल, वरिष्ठ वैज्ञानिक तथा नाष्ट (NAST) का प्रवक्ताले पुस्तकको समीक्षात्मक टिप्पणी प्रस्तुत गरे। उनले पुस्तकमा समावेश वैज्ञानिक र दार्शनिक विचारहरूप्रति सकारात्मक मूल्याङ्कन गर्दै यस्ता प्रयासहरूले नेपाली समाजमा विज्ञानसँग जोडिएको बौद्धिक चेतनाको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले दर्शनशास्त्र र आधुनिक विज्ञानबीचको सम्बन्ध स्पष्ट पार्न लेखकको प्रयास सराहनीय रहेको उल्लेख गरे।

झलनाथ खनालले दर्शनशास्त्रको ऐतिहासिक पृष्ठभूमिमा प्रकाश पार्दै नेपालमा कपिल दर्शनको उत्पत्तिदेखि बुद्ध दर्शनसम्मको विकासक्रम वर्णन गरे। उनले कपिलवस्तु कपिल दर्शनको आधारमा विकास भएको इतिहास उल्लेख गर्दै बुद्ध दर्शनले उत्पत्ति र विनाशको सैद्धान्तिक अवधारणालाई अगाडि ल्याएको चर्चा गरे।

मार्क्सवादी चिन्तनको सन्दर्भमा खनालले समाजवादी युगको आगमन विज्ञानमा आधारित हुने विचार व्यक्त गर्दै, खोज र अनुसन्धानमा ‘अन्तिम सत्य’ को परिभाषा होइन, निरन्तर संशोधन र जिज्ञासाको भावना आवश्यक रहेकोमा जोड दिए। “यदि हामी अन्तिम सत्यमा अडिन्छौं भने अनुसन्धानको गति रोकिन्छ,” उनले चेतावनी दिए।

खनालले समृद्ध र सुखी नेपाली समाज निर्माण गर्न शिक्षा, कृषि, उद्योग, स्वास्थ्यजस्ता नीतिगत क्षेत्रहरूमा गम्भीर बहस र चिन्तन आवश्यक रहेकोमा जोड दिए। उनले विचार र दर्शनहरू केवल पुस्तकालयका पानामा सीमित नरही व्यवहारमा उतारिने खालका हुनुपर्ने धारणा राखे।

समारोहमा नेकपा (एकीकृत समाजवादी) का पूर्वमन्त्री तथा वरिष्ठ नेता भानुभक्त जोशीले पनि मन्तव्य दिँदै लेखक जोशीलाई बधाई दिए। उनले दुर्गम जिल्ला बझाङबाट कार्यरत रही जोशीले यति गहिरो र अध्ययनमूलक पुस्तक तयार पार्नु विशेष उपलब्धि भएको बताए। पुस्तकमा मानव शरीरदेखि ब्रह्माण्डसम्मको विकास प्रक्रियालाई समेटिएको उल्लेख गर्दै, यो कृति व्यापक बौद्धिक मूल्य बोकेको बताए।

पुस्तकका लेखक नन्दराज जोशीले कार्यक्रममा पुस्तकको बारेमा प्रकाश पार्दै ‘गतिशील पदार्थ’ र ‘रिलेटिभ तत्व’ को सैद्धान्तिक व्याख्या प्रस्तुत गरे। चेतनाको निर्माण प्रक्रिया र यसको भौतिक आधारबारे आफ्ना अध्ययनका अनुभव सुनाउँदै उनले सात वर्षसम्मको अनवरत मेहनतपछि यो पुस्तक तयार भएको उल्लेख गरे। उनले पुस्तकमा ‘मानव भौतिकवाद’ को धारणा समेत समावेश गरिएको जानकारी गराए।

कार्यक्रमको क्रममा सञ्चारकर्मीका प्रश्नमा प्रतिक्रिया दिँदै नेता खनालले नेकपा अध्यक्ष माधवकुमार नेपालविरुद्धको मुद्दा अब अदालतको विषय बनिसकेकोले त्यसबारे धेरै टिप्पणी गर्नु उपयुक्त नहुने स्पष्ट पारे। उनले भने, “गणतन्त्र, शासन र प्रशासनलाई पारदर्शी, जनमुखी र राष्ट्रिय हितअनुकूल बनाउन अझै धेरै काम गर्न बाँकी छन्। अहिलेको प्राथमिकता त्यहीं हुनुपर्छ।”

प्रतिक्रिया दिनुहोस्