
काठमाडौं
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार वरिष्ठ रंग पत्रकार कुबेर गिरी केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा नियुक्त भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गिरीलाई औपचारिक रुपमा नियुक्तिपत्र प्रदान गरेका हुन्।
गिरी विगत दुई दशकदेखि रंग पत्रकारितामा सक्रिय छन्। उनले विभिन्न साप्ताहिक, मासिक पत्रिका, समाचारपत्रहरूसँगै हिमालयन टाइम्स, सौर्य दैनिक, र नेपाल टेलिभिजनमा चलचित्र समाचार प्रस्तुत गर्दै पत्रकारिता अघि बढाएका छन्। हाल उनी रातोपाटी डटकममा कार्यरत छन्।
नेपाल टेलिभिजनका लागि करिब आधा दर्जन टेलिसिरियल र चलचित्रसम्बन्धी कार्यक्रमको निर्माण तथा निर्देशन गरिसकेका गिरीले केही म्युजिक भिडियोको निर्देशन पनि गरेका छन्। उनी चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष समेत हुन्।
यस्तै, अर्को सदस्यका रुपमा कलाकार भीमा मैनाली पनि सेन्सर बोर्डमा नियुक्त भएकी छन्। दुई दशकभन्दा लामो फिल्म यात्रामा मैनालीले कलाकार, लेखक तथा निर्देशकको भूमिकामा काम गरेकी छन्। उनले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा समेत उम्मेदवारी दिएकी थिइन्।
यसअघि समितिको सदस्यमा सम्पन्न श्रेष्ठलाई पनि नियुक्त गरिएको थियो।





