पाँचौं साधना म्युजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न, चन्द्रकला शाहलाई ‘दिर्घ साधना कलाकारिता सम्मान’



काठमाडौँ, जेठ २०

नेपाली सांगीतिक क्षेत्रमा महत्वपूर्ण मानिने पाँचौं राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) २०८१ काठमाडौंमा सम्पन्न भएको छ। संघीय राजधानीको चलचित्र विकास बोर्डको सभाहलमा आयोजित उक्त कार्यक्रममा कुल २२ विधामा कलाकारहरुलाई सम्मानित गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि पूर्व गृहमन्त्री शक्ति बहादुर बस्नेत रहेका थिए भने आयोजक संस्था सामना म्युजिक क्रियशन की अध्यक्ष सामना शाहको सभापतित्व रहेको थियो।

विशेष सम्मानहरू प्रदान

यस अवार्ड समारोहमा वरिष्ठ गायिका तथा गीतकार चन्द्रकला शाहलाई “दिर्घ साधना कलाकारिता सम्मान” प्रदान गरियो। साथै, नेपालको पहिलो चलचित्र “आमा” का तीन अभिनेत्रीहरू – भुवन चन्द, चैत्यदेवी र बसुन्धरा भुषाललाई “चलचित्रकर्मी त्रीदेवी सम्मान” प्रदान गरिएको थियो।

त्यस्तै, संगीतकार चेतन राई, सञ्चारकर्मी सोनित राज ढुङ्गेल, गायिका अनिता कुँवर, सञ्चारकर्मी तुलसिंह रनपछाई, मिसेज नेपाल रेश्मा घिमिरे, गीतकार तथा गायक सुवास कार्की, संगीतकार मदन नेपाली, गायक धनराज चुनारा, बालकलाकार आरिया शाही, र गोकर्णेश्वर नगरपालिकाका प्रशासकीय अधिकृत याम नारायण गौलीलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।

लोकदोहोरी विधामा उत्कृष्टता

लोकदोहोरी गीत “ज्यानै फाल्दिन्छु” बाट सागर रेग्मीले उत्कृष्ट शब्दकारको अवार्ड जित्न सफल भए। यही गीतबाट मोडलतर्फ अशोक पौडेल (पुरुष) र निरुता साही (महिला) तथा निर्देशक श्रृजन बराल समेत पुरस्कृत हुँदै यो गीतले चार विधामा अवार्ड हात पार्‍यो।

लोकदोहोरी लयतर्फ “वेसारे माया” गीतबाट शान्त शिशिर र महिला मोडल नृत्यतर्फ सञ्चिता साही लाई जुरी अवार्ड प्रदान गरियो।
गायन विधामा रामप्रसाद अवस्थी (तिमी्रो खाँचो) र सिमा थापा (दमौलीमा गेट) विजेता घोषित भए। नृत्यतर्फ विमल अधिकारी (म बाँचेकी तिमी्रो लागि) र अस्मीता पुरी (फुलमाया) विजेता बने।

आधुनिक गीत विधामा चम्किए यी नामहरू

शब्द: डा. ओमकृष्ण प्रसाई (पिता)

संगीत: केशव सापकोटा (झेलीमाया)

गायक: डेविट शंकर (जुनकिरी)

गायिका: प्रतिमा केसी (खाली खुट्टा)

मोडल (पुरुष): श्रीदेव भट्टराई (जहिले देखी नजर जुध्यो)

मोडल (महिला): दीपा शाही (कस्ती थिए कस्ती भए)

जुरी अवार्ड (महिला मोडल): सपना जनक (मेरो मान्छे)

जुरी अवार्ड (पुरुष मोडल): विजय नौवागे (म तिमीलाई मन पराउँछु)

निर्देशक: सियोन श्रेष्ठ (सत्य राम कसम)

प्राविधिक श्रेणीमा पनि सम्मान

उत्कृष्ट छायाँकार: अजय रेग्मी (मेरी बाठी मायाले)

सम्पादन: राजेश कुमार (बाँच्दिन म)

एरेन्जर: विष्णु तामाङ (पालेदाई)

कार्यक्रम निर्देशक शान्तिप्रियको स्वागत मन्तव्यपछि प्रमुख अतिथि शक्तिबहादुर बस्नेतले सांगीतिक क्षेत्रको प्रगति र योगदानको सराहना गर्दै शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन दीपज्योती थापाले गरिन्।

प्रतिक्रिया दिनुहोस्