‘माया हो माया’ गीत सार्वजनिक, डब्बु क्षत्रीद्वारा निर्देशन, डेविड र बेनिशाको सुमधुर स्वर



काठमाडौं, जेठ १९

लामो समयदेखि गीत लेखनमा सक्रिय सञ्चारकर्मी डब्बु क्षत्रीले आफ्नो नयाँ आधुनिक गीत ‘माया हो माया…’ सार्वजनिक गरेका छन्। आइतबार साँझ ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको छ।

काठमाडौंको एक समारोहमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले गीतको औपचारिक विमोचन गरेका थिए। पूर्व प्रधानमन्त्री नेपालले गीत निकै सुमधुर रहेको प्रतिक्रिया दिँदै गायन, संगीत र भिडियो सबै पक्ष सराहनीय रहेको बताए।

गीतमा गायक डेविड शंकर र गायिका बेनिशा पौडेलको युगल स्वर रहेको छ भने संगीतकार दीपक शर्माले यसमा मिठास भरेका छन्। गीतको संगीत संयोजन जुगल डंगोलले गरेका हुन् भने रेकर्डिङ काठमाडौंको पुतलीसडकस्थित आर्टोम्युजिक स्टुडियोमा गरिएको हो।

भिडियोको निर्देशन स्वयं गीतकार डब्बु क्षत्रीले गरेका छन्। भिडियोमा अभिनेता प्रवण भुसाल र मोडल तथा गायिका सरिता भारतीको दमदार अभिनय देख्न सकिन्छ। उनीहरूको केमिस्ट्री र अभिनय श्रोताहरूले रुचाएका छन्।

गीतको भिडियो रारा ताल, कालिकोट र जुम्ला लगायत कर्णाली प्रदेशका रमणीय स्थलहरूमा छायांकन गरिएको छ। निर्देशक क्षत्रीका अनुसार गीतको माधुर्यतालाई प्रकृतिको सौन्दर्यसँग मिलाएर दर्शकलाई दृश्यात्मक सन्तुष्टि दिने उद्देश्यले यस्तो लोकेशन रोजिएको हो।

छायांकन दिव्यराज सुवेदी, ड्रेस डिजाइन दिलमाया मगर र सञ्जिता बरालले गरेका हुन् भने कोरियोग्राफी सुवास बुढाथोकीको रहेको छ।

गीतले दर्शकसामु भावनात्मक मिठास, रोमान्स र नेपाली भू–परिवेशको सुन्दरता प्रस्तुत गरेको छ।

🎶 गीत हेर्नुहोस्: माया हो माया – Official Music Video

प्रतिक्रिया दिनुहोस्