
काठमाडौं, जेठ १५
बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ का लागि आवेदन प्रक्रिया औपचारिक रूपमा खुला गरिएको छ। ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा काठमाडौंको हिल्टन होटलमा आयोजित विशेष कार्यक्रममा प्रतियोगिताको सुरुवात घोषणा गरिएको हो।
कार्यक्रममा मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक संगीता पुरीले यो प्रतियोगिता नेपाली महिलाहरूको आत्मविश्वास, क्षमता र पहिचान उजागर गर्ने समावेशी प्लेटफर्म भएको बताइन्। उनले भनिन्, ‘तपाईं जस्तो हुनुहुन्छ, त्यही नै तपाईंको सौन्दर्यता हो। हामी सबै पृष्ठभूमिका महिलालाई स्वागत गर्दछौं।’
यस वर्षको प्रतियोगिता आठ भागमा आधारित रियालिटी टिभी सिरिजको रूपमा प्रस्तुत गरिनेछ, जसमा दर्शकले प्रतियोगीहरूको यात्रा, चुनौती र रूपान्तरणलाई नजिकबाट अनुभव गर्न सक्नेछन्।

दर्ता प्रक्रिया जेठ १५ देखि असार १५ गतेसम्म खुला रहनेछ। इच्छुक सहभागीहरूले खल्ती एप, मिस युनिभर्स नेपालको वेबसाइट, वा सोसल मिडिया प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्।
योग्यता मापदण्ड:
कम्तीमा १८ वर्ष उमेर पुगेको हुनुपर्ने,
+2 वा सो सरहको शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्ने,
उचाइ, तौल वा वैवाहिक स्थितिमा कुनै प्रतिबन्ध नरहेको।
नेपाली नागरिकसँगै गैरआवासीय नेपाली महिलाहरूले पनि प्रतियोगितामा भाग लिन सक्नेछन्।
विशेष उपस्थिति
घोषणा कार्यक्रममा मिस युनिभर्स नेपाल २०२४ सम्पदा घिमिरे, अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका देश निर्देशक नुमान ओजकान, कोरियोग्राफर दिक्पाल कार्की, अध्यक्ष साबी पुरीलगायतको उपस्थिति थियो।
प्रतियोगिताका उत्कृष्ट प्रतिस्पर्धीहरूले २५ दिने इन्टेन्सिभ ट्रेनिङ साउनमा लिनेछन् भने क्लोज क्याम्प भदौमा सञ्चालन हुनेछ। ग्रान्ड फिनाले पनि भदौमै आयोजना गरिनेछ।
यस वर्ष मिस युनिभर्स नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनसँग मिलेर समाजसेवा र सामाजिक कल्याणका क्षेत्रमा सहकार्य गर्ने घोषणा समेत गरेको छ।





