नेपाली निर्माता बिक्रम डि. जोशीको फिल्म ‘कामा’ बेलायतको नेशनल फिल्म अवार्डमा मनोनीतसार्वजनिक मतका लागि भोटिङ खुला, निर्माता जोशीको नेपाली समुदायमा भोट गर्न आग्रह



काठमाडौं, १२ जेठ

नेपाली अभिनेता तथा निर्माता बिक्रम डि. जोशीद्वारा निर्माण गरिएको अंग्रेजी क्राइम-सस्पेन्स फिल्म ‘कामा’ बेलायतको प्रतिष्ठित ११औं नेशनल फिल्म अवार्ड्स–२०२५ मा ‘वेस्ट इन्डिपेन्डेन्ट फिल्म’ विधामा मनोनीत भएको छ।

बेलायतमा लामो समयदेखि बसोबास गर्दै आएका जोशीको यो फिल्म गत मार्च महिनाको दोस्रो साता बेलायतका विभिन्न सहरका हलहरूमा प्रदर्शनमा आएको थियो। प्रदर्शन पश्चात राम्रो समीक्षासहित दर्शकको मन जितेको ‘कामा’ यस विधामा ‘ट्रेडिङ वाटर’, ‘डिमाइस’, ‘बिफोर निकाह’, ‘ल्याला’, ‘ब्ल्याक क्याव’, ‘फोर मर्दस्’, ‘अ ब्रदर्स बोन्ड’, ‘डोन्ट टर्न आउट दि लाइटस्’, ‘कुक्सटर – द डार्केष्ट डेज’ र ‘रेपुटेशन’ जस्ता ब्रिटिश फिल्महरूसँग प्रतिस्पर्धामा रहेको छ।

अवार्ड आयोजक संस्था नेशनल फिल्म एकेडेमी, युके ले १९ मेमा नोमिनेसन सार्वजनिक गर्दै आम दर्शकका लागि १९ जुनसम्म अनलाइन भोटिङ खुला गरिएको जनाएको छ। विजेता जनताको मतको आधारमा छनोट हुने आयोजकले स्पष्ट पारेको छ।

निर्माता जोशीले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई ‘कामा’ लाई भोट गरी अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पहिचान स्थापित गराउन आह्वान गरेका छन्। उनले भनेका छन्, “बेलायतको नेशनल अवार्डमा नेपाली फिल्मको मनोनयन हाम्रो सबैको गर्वको विषय हो। कृपया ‘कामा’ लाई भोट गरिदिनुहोस्।”

नेशनल फिल्म एकेडेमीद्वारा सन् २०१५ देखि आयोजित हुँदै आएको यो अवार्ड बेलायती फिल्म उद्योगको प्रमुख वार्षिक सम्मान कार्यक्रममध्ये एक हो। अवार्ड समारोह आगामी २ जुलाईमा लण्डनको पोर्चेस्टर हलमा आयोजना हुने छ।

‘कामा’ का निर्देशक भीमसेन लामा हुन् भने कथा स्व. बिशारद बस्नेतले लेखेका हुन्। पटकथा तथा संवाद लक्ष्मण सुवेदी, बिक्रम डि. जोशी र हिराल जोशीले तयार पारेका हुन्। यसअघि विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा अवार्ड जितिसकेको फिल्ममा नेपाली अभिनेता टंक धमला, समीर गुरुङ, भारतीय अभिनेत्री पूजा गुप्ता, ब्रिटिश अभिनेता म्याथ्यु वेवफोर्ड, जेमिमा टोम्स, मिया बेनेटलगायतका कलाकार मुख्य भूमिकामा छन्।

फिल्मका कार्यकारी निर्माता बिक्रम डि. जोशी स्वयं हुन् भने हिराल जोशी मुख्य निर्माता हुन्। सह–निर्मातामा इश्वर श्रेष्ठ र एमजी अमीन छन्। सम्पूर्ण छायांकन बेलायतमै गरिएको यो फिल्मले अन्तर्राष्ट्रिय प्रदर्शन पनि गरिसकेको छ।

बिक्रम डि. जोशी यसअघि ‘ह्याप्पी डेज’, ‘पासवर्ड’, ‘हेलो जिन्दगी’ र ‘राधा’ जस्ता नेपाली फिल्ममा अभिनय तथा निर्माण गरिसकेका छन्। हाल उनी नयाँ नेपाली फिल्म ‘बिक्रम’ को तयारीमा छन्।

यो लिंकमा क्लिक गरेर ‘कामा’ लाई भोट गर्न सकिन्छ ।

https://nationalfilmacademy.com

प्रतिक्रिया दिनुहोस्