
काठमाडौं – गायिका शान्तीश्री परियार र गायक गौरव गिरीको स्वरमा रहेको नयाँ देउडा गीत ‘लजाउने हैछौनी’ सार्वजनिक भएको छ। गौरव गिरीकै शब्द रचना, रोहित देउवाको संगीत, विसम आचार्यको एरेञ्ज तथा श्याम श्वेत रसाईलीको मिक्सिङ/मास्टरिङ रहेको गीतमा सुदूरपश्चिमकी चर्चित मोडल मिस पवीको अभिनय देख्न सकिन्छ।

प्रेम, रोमान्स र वियोगको कथालाई समेटिएको यो गीतलाई निर्देशक गिरीले कलात्मक ढंगमा प्रस्तुत गरेका छन्। नुवाकोटका रमणीय लोकेसनहरूमा छायांकन गरिएको भिडियोलाई प्रेमील र रोमान्टिक शैलीमा बनाइएको छ।
भिडियोमा मिस पवीका साथै दीपा शाही र चर्चित कलाकार राजेश नाथको समेत दमदार उपस्थिति छ। ‘मेरी बास्सै’का बैतडी बाजे नामले चिनिएका राजेश नाथले यसै भिडियोमार्फत १० वर्षपछि पुनरागमन (कमब्याक) गरेका हुन्।

सन्जु चौधरीको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन, फाइनल पिक्सल नेपालको सम्पादन र श्याम कुँवरको कलर ग्रेडिङ रहेको भिडियो रिदम भिआईडी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
निर्देशक गिरीले गीतले देउडा संस्कृति संरक्षणमा योगदान पुर्याउने र समाजका विविध आयाम उजागर गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।





