‘साकेला जाउँ’ गीतको भिडियो सार्वजनिक – राजेश पायल र मेलिना राईको स्वरमा



काठमाडौं – उँभौली पर्वको अवसर पारेर गायक राजेश पायल राई र गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘साकेला जाउँ’ सार्वजनिक भएको छ।

किराँत समुदायको सांस्कृतिक पर्व साकेलाको भाव झल्काउने यो गीतमा दक्षिण राईको संगीत रहेको छ भने एरेन्ज सागर संसार राईले गरेका छन्। गीतले किराँत समुदायका पितापुर्खाको सम्झना, संस्कार र परम्परालाई जीवन्त रूपमा चित्रण गरेको छ।

गीतको भिडियो सङ्खुवासभाली किराँत युवाहरूको पहलमा निर्माण गरिएको हो। भिडियोको छायांकन गंगाराम राईले, सम्पादन जोन राईले गरेका छन् भने निर्मातामा युवराज राई र सरस्वती राई छन्। भिडियोमा जोन राई र मनिसा राईले अभिनय गरेका छन्।

गीतका रचनाकार युवराज राईका अनुसार ‘साकेला जाउँ’ ले किराँत समुदायभित्रका २८ भन्दा बढी भाषिक समूहहरूको प्रतिनिधित्व गर्ने प्रयास गरेको छ।

यस गीतमार्फत किराँत संस्कृतिको मौलिकता र विविधता दर्शाउने लक्ष्य लिइएको छ।

प्रतिक्रिया दिनुहोस्