सशस्त्र प्रहरी महानिरीक्षकबाट ‘म्यान अफ द वर्ल्ड’ दुलाललाई विशेष बिदाई



२६ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले ‘म्यान अफ द वर्ल्ड’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका आयुष दुलाललाई विशेष बिदाई गरेका छन्। आगामी मे २३ देखि ३१ तारिखसम्म फिलिपिन्समा हुने उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन लागेका दुलाललाई शुक्रबार आयोजित कार्यक्रममार्फत बिदाई गरिएको हो।

सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महानिरीक्षक अर्यालले दुलाललाई प्रशंसा पत्र प्रदान गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान उजागर गर्न शुभकामना व्यक्त गरे। उनले दुलालको प्रस्तुतिले नेपाली युवाको आवाज र क्षमतालाई विश्वसामु चिनाउने विश्वास व्यक्त गरे।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. १४ निवासी आयुष दुलालले मिस्टर नेपाल २०२४ मा ‘म्यान अफ द वर्ल्ड नेपाल २०२५’ र ‘बेस्ट पर्सनालिटी’ उपाधि जितेका थिए। सामाजिक अभियन्ता तथा युवा मोडलका रूपमा परिचित दुलाल यसअघि थुप्रै राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी भइसकेका छन्।

उनले ‘एडभोकेसी थ्रु पेजेन्ट्री’ को अवधारणा अघि सार्दै शिक्षा, संस्कृति तथा नेतृत्व विकासको सन्देश अन्तर्राष्ट्रिय मञ्चमा फैलाउने लक्ष्य लिएका छन्। नेपाली युवा पछिल्लो दशकदेखि सौन्दर्य प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय जगतमा सक्रिय हुँदै आएका छन्।

आइटी स्नातक तथा मानसिक स्वास्थ्य प्राथमिक सहयोगी दुलाल मानसिक स्वास्थ्यप्रति सचेतना जगाउने र खेलकुदको प्रवर्द्धन गर्ने प्रतिबद्धतासमेत राख्छन्। काभ्रेका चर्चित फुटबल खेलाडीसमेत रहेका उनी अष्ट्रेलियाबाट व्यवसायिक खेल समेत खेलिसकेका छन्।

बहुआयामिक प्रतिभा र समर्पणले उनलाई प्रतियोगिताको बलियो दावेदार बनाएको छ। नेपाली र अंग्रेजी भाषामा प्रभावशाली प्रस्तुति दिने क्षमताका साथ उनी भन्छन्, “म केवल र्याम्पमा हिँड्न होइन, नेपाली पहिचान बोकेर अन्तर्राष्ट्रिय समुदायसँग संवाद गर्न जाँदैछु।”

उनका अनुसार ‘म्यान अफ द वर्ल्ड’ प्रतियोगिता केवल फेसन वा सौन्दर्य प्रदर्शन नभई शिक्षा, नेतृत्व र सकारात्मक पुरुष छविको प्रवर्द्धन गर्ने अभियान हो। अघिल्ला संस्करणमा नेपालले राम्रो छवि बनाएको हुँदा यसपालि उपाधि जित्ने अपेक्षा पनि बलियो छ।

प्रतिक्रिया दिनुहोस्