
काठमाडौं – भारतीय अभिनेत्री तथा चर्चित नृत्याङ्गना नोरा फतेही आगामी जेष्ठ ३ गते (मे १७, २०२५) नेपाल आउने भएकी छन्। यसबारे जानकारी बिहीबार सुकेधारास्थित मर्क्युर होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
ह्युमन रेस्पेक्ट नेपालको सहयोगार्थ आयोजित हुने च्यारिटी कार्यक्रमका लागि फतेही नेपाल आउन लागेकी हुन्। कार्यक्रमको आयोजना वल्र्डवाइड फिल्म्स नेटवर्क प्रा.लि. ले गर्दैछ। संस्थाका अध्यक्ष देव मगरका अनुसार मनोरञ्जनमार्फत सामाजिक कार्यमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

उद्घाटन कार्यक्रममा नोरा फतेहीसँगै नेपाली कलाकारहरू पनि प्रस्तुत हुनेछन्। गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, समर्पण लामा, तथा भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिस्टहरू – इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, र प्रशेस पाण्डे लगायत कलाकारले आफ्नो प्रस्तुति दिनेछन्।
तेरिया फौजा मगरले आफू कार्यक्रमको लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताउँदै, “नोरा फतेहीसँग स्टेज सेयर गर्नु गौरवको कुरा हो, यसले नेपालको पर्यटन र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्छ,” भनिन्।
कार्यक्रम बौद्धस्थित हायात मैदानमा आयोजना हुनेछ। नोरा फतेहीले पनि एक भिडियो सन्देशमार्फत नेपाल आउन पाउँदा उत्साहित रहेको बताउँदै, “यो मेरो पहिलो नेपाल यात्रा हो, तपाईंहरू सबैसँग भेट्न पर्खन सकिरहेको छैन,” भनेकी छन्।
कार्यक्रम व्यवस्थापन मनु मिडिया प्रा.लि. ले गर्नेछ। आयोजकका अनुसार नोरा फतेहीसँगै २० भन्दा बढी भारतीय नृत्य कलाकारहरू पनि नेपाल आउनेछन्।

इभेन्टको लागि टिकट ‘खल्ती’ एपमार्फत खरिद गर्न सकिनेछ, जसको मूल्य रु २ हजार, ४ हजार, ७ हजार र १६ हजार निर्धारण गरिएको छ। कार्यक्रम दिउँसो ३ बजे गेट खुल्नेछ भने संचालन ओसिन सिटौलाले गर्नेछन्। कार्यक्रमको विशेष आकर्षणको रूपमा नोरा फतेही र दुर्गेश थापाले ‘दुश्मन हेरेको हेरै’ गीतमा संयुक्त प्रस्तुति दिनेछन्।
नोरा फतेहीका ‘दिलबर दिलबर’, ‘ओ साकी साकी’, ‘कुसु कुसु’, ‘नाच मेरी रानी’ जस्ता गीतहरू नेपालमा पनि अत्यन्त लोकप्रिय छन्।





