‘द रेड सुटकेस’लाई दर्शकको साथ



काठमाडौं । अन्तराष्ट्रिय चलचित्र महोत्सबहरुमा ब्यापक सफलता हाँसिल गरेको नेपाली चलचित्र ‘द रेड सुटकेस’ नयाँ वर्षको अबसरमा शुक्रबारबाट मुलुकका चार दर्जन भन्दा बढी सिनेमा हलमा प्रदर्शन भईरहेको छ । यो चलचित्रले शनिबार नयाँ वर्षको दिन काठमाडौं र मोफसलका हलहरुमा दर्शकबाट राम्रो साथ पाईरहेको छ ।

आफ्नो चलचित्र काठमाडौंको वान सिनेमा, सिडिसी सिनेमा, बिग मूभिजसहित विभिन्न हलमा शनिबार हाउसफुल भएको यसका निर्माता रामकृष्ण पोखरेलले बताएका छन्,‘यो चलचित्र हेर्नुहुने दर्शकले अरु भन्दा फरक चलचित्र भएको र आफुलाई मन परेको प्रतिक्रिया दिएका छन् । उनीहरुको सुखद प्रतिक्रियाले हामी उत्साहित छौं ।’ निर्माता रामकृष्णले भने, क्युएफएक्स चेनबाहेक बाँकी सबै हलमा हाम्रोे चलचित्र हिजोबाट प्रदर्शन भईरहेको छ । आफुलाई पायक पर्ने हलमा पुगेर द रेड सुटकेस हेर्नको लागि यहाँहरुलाई अनुरोध गर्दछु ।’

मगलबार यो चलचित्रको काठमाडौंमा गरिएको प्रिमियरले द रेड सुटकेस प्रति दर्शकको चासो बढेको थियो । सिनेमा हेरिसकेका दर्शकले आम नेपाली चलचित्र भन्दा निकै फरक चलचित्रको रुपमा द रेड सुटकेसको चर्चा गरेपछि यसको चर्चा बढेको यसका निर्देशक फिडेल देवकोटाले बताएका छन् । यसलाई धेरैले अनौठो र दुर्लभ शैलीको चलचित्रको रुपमा लिएको पनि उनले बताए ।

यो चलचित्रमा सौगात मल्ल, विपीन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठलगायतको मुख्य भूमिका रहेको यो चलचित्रलाई युएफओ च्यानलले युरोपको लागि गत साता खरिद गरिसकेको छ ।

श्रीलँका र भातरमा प्राविधिक कार्य गरिएको यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशक गरेका हुन् । यो चलचित्रको सम्पादन श्रीलँकामा समन अलभितिगाले गरेका हुन् । चलचित्रको छायाँकार सुसन प्रजापति हुन् । आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको यो चलचित्रको बाँकी निर्मातामा फिडेल देवकोटा, शोभा थापा र सह निर्मातामा श्रीलंकाका विमुक्ति जयसुन्दरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्