सिपाहीमा समर्पित गोर्खा वारियरको गीत जय जय गोर्खाली रिलिज



काठमाडौं । आगामी ११ फागुनबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने ऐतिहाँसिक अन्तराष्ट्रिय चलचित्र गोर्खा वारियरको गीत ‘जय जय गोर्खाली’को मोशन भिडियो बिहिबार सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा यो गीतको भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको हो ।

शसस्त्र प्रहरी बल पूर्व महानिरिक्षक एवम् बरिष्ट गीतकार शैलेन्द्र खनाल ‘सरद’ले यो गीतलाई लेखेका हुन् । गीतमा युद्धमा खटिएका सिपाहीको विरताको गाथा प्रस्तुत गरिएको छ । यो गीतमा एलिश कार्कीको संगीत रहेको छ । कतव्र्यमा अघि बढ्नका लागि हरेक सिपाहीलाई उर्जा दिने यो गीतलाई राजेश पायल राईले निकै आकर्षक र माधुर्य रुपमा गाएका छन् ।

यो मोसन भिडियोमा गीतलाई एकातर्फ लिरिकल रुपमा प्रस्तुत गरिएको छ । अर्को तर्फ सम्बन्धित गीतको भाव समेटिएको दृष्यसँगै तस्बिर युक्त भिडियोलाई पनि गीतिशब्दसँगै प्रस्तुत गरिएको छ । गीतले बा आमाको आशिष माग्दै, बीरहरुको पनि बीर बन्दै डटेर लड्ने इमान्दारिताको मार्गमा चल्ने अनि मातृभूमिको नाम राख्ने म हुँ बहादुर सिपाहीं भन्दै सिपाहीको कर्तब्य र जिम्मेवारीको बयान गरेको छ । गीतले सेना तथा सुरक्षा फौजमा रहेका बहादुर सिपाहीको सँघर्ष, वीरताको कथा र परिवारसँग उसको सम्बन्धलाई पनि श्रब्य दृष्य दुबै माध्यमले बर्णन गरेको छ । यो निकै जोशिलो गीतलाई यतिबेला दर्शकले रुचाएका छन् ।
यो चलचित्र बृटिस गोर्खा सिपाहीको साहसिक कथामा निर्माण गरिएको भए पनि यो गीतले सबै प्रकारका सिपाहीको बहादुरीको कथा भनेको छ । सोही कारण पनि आगामी दिनमा यो गीत सिपाहीहरुको लागि उर्जा बढाउने एउटा सही र सार्थक गीत सावित हुने पक्का छ ।

यो चलचित्रका निर्देशक मिलन चाम्सले चलचित्रको कथाभाव अनुसारकै यो गीत तयार गरिएको बताएका छन् । यो गीतमा गोर्खा वारियरको मुख्य कलाकार रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको अभिनय समेटिएको छ । राष्ट्रिय भावको यो गीत सुन्दा जो कोहीमा पनि एक प्रकारको उर्जा एवम् जोश बढ्ने गर्दछ ।

नेपाली, हिन्दी, अँग्रेजी र कोरियनसहित चार भाषामा निर्माण भएको चलचित्र गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ । जसमा मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ ।

यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यो चलचित्रको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्