कामपाले पायो सफाइ कर्मचारी, एक नाइकेसहित २५ जनाको समूह तोकियो



काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका सबै सडक पूर्ण रूपमा सफाइ अभियान शुरू गरेको छ । कामपाले शुक्रबारबाट करार सेवाका ३ सय कर्मचारी थप गरी सबै सडक सफा गर्ने अभियन शुरू गरेको हो ।

कामपा वातावरण व्यवस्थापन विभागले ३२ वटै वडामा सफाइ मजदुर परिचालन गरेको छ । विभागीय प्रमुख रविनमान श्रेष्ठले २५ जनाको समूहले सडकमा रहेका सबै टुक्राटाक्री टिपनटापनदेखि सडकलाई पूर्ण रूपमा सफा गर्ने बताए । उनले भने– ‘कतै पनि फोहोरको थुप्रो नहुने गरी सफाइ शुरू गरेका हौं ।’

विभागले कतै फोहोर जम्मा भएको जानकारी भए तत्काल विभागमा जानकारी गराउन आग्रह गरेको छ । विभागका अनुसार हरेक टिमका कर्मचारी ८ घण्टा खट्ने गरी व्यवस्थापन गरेको छ । विभागले बिहान ६ देखि २ र दिउँसो २ देखि थप समयका लागि कर्मचारी व्यवस्थापन भएको जनाएको छ ।

कामपासँग उपलब्ध भएका ६ सय र नयाँ भर्ना लिएका ३ सयसमेत गरी ९ सय कर्मचारीले सफाइ अभियान शुरू गरेका छन् । कामपाले गएको महिना बज्र सेक्युरिटी एन्ड कनेक्टर जेभीबाट सेवा करारमा लिने सम्झौता गरेलगत्तै हिजोबाट ३ सय कर्मचारी सडक सफाइ गर्न खटिएका छन् ।

करिब १ हजार ५ सय सफाइ मजदुर रहेको महानगरमा ९ सय कर्मचारी अवकास भएर ६ सय पुगेको थियो । ६ सय मजदुरले मात्र राजधानीको सडक र अन्य संरचना सफा गर्न सम्भव नभएपछि थप ३ सय सेवा करारमा लिएको हो । थपिएका सहित सबै सफाइ कर्मचारीले सडक, पार्क, बगैंचा, पर्खाललगायत संरचना र सबै क्षेत्रको सफाइ गर्नेछन् ।

२५ जनाको समूहलाई नेतृत्व गर्न एक जना नाइके खटाइएको छ । विभागले निर्देशन दिएअनुसार नाइकेले मजदुरलाई काममा खटाउने छ । कामपाले १६ वर्षपछि सफाइ कर्मचारी करारमा नियुक्ति गरेको हो ।

हाल करारमा भर्ना भएका सफाइ मजदुरले बन्चरेडाँडा र टेकुस्थित ट्रान्सफर स्टेसनमा समेत काम गर्नुपर्छ । कामपा वातावरण व्यवस्थापन विभागका निर्देशक रविनमान श्रेष्ठले सबै कर्मचारीलाई ८ घण्टा काममा लगाइने जानकारी दिए।

सोही आधारमा आपूर्तिकर्ता कम्पनीबट कर्मचारी भर्ना लिएको उनको भनाइ छ । श्रेष्ठका अनुसार ३ सय थप कर्मचारीका लागि श्रम ऐनले तोकेअनुसार मासिक तलब भुक्तानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्