भूकम्प क्षेत्रमा सुत्केरीको बिजोग



एक दिनकी सुत्केरी मीनाकुमारी बादीलाई चौबिस घण्टा बितेको भन्दै अस्पतालले निकालिदियो । उनलाई जस्तै अर्की सुत्केरी उषा परियारलाई पनि अस्पतालले बिहीबार डिस्चार्ज गरिदियो ।

न त लैजाने स्ट्रेचर, न एम्बुलेन्स, न त अरू भाडाको सवारी साधन । सकिनसकी गेग्य्रान बाटोमा दुवै जना लड्खडाउँदै हिँडे । मीनाकी सासू एक दिनकी नातिनी बोकेर अघि अघि हिँड्दै थिइन् । मीना भाउन्न भएर लड्न लाग्दा दुई स्वयंसेवक युवतीले देखेपछि हात समातेर अड्याए । सासू सुनिता बादीले भनिन्, “लाने गाडी छैन, अहिले ननिकालिदेऊ, घर पनि छैन भन्दा पनि निकालिदिए, कहाँ लैजानु ? लिएर आया ।”

अस्पतालबाट घर झन्डै आधा घण्टाको मात्र बाटो हो । तर सुत्केरीका लागि त्यो पनि हिमाल चढे जस्तै भयो । मीना अलि पर नपुग्दै थर्थरी काँपेर उभिन नसकेर थचक्क बाटामै लडिन् । नलगाड नगरपालिका–७, दल्ली भेरी पारिको किनारको बस्ती हो । वरिपरि लहरै भत्केका घर, छेउमा कतै त्रिपाल, कतै झिँजामिजाले टालेका टहरा धमाधम बनाइँदै थिए । भूकम्पको पीडाले थलिएकाले होला । सुत्केरीलाई सघाउन कोही आएनन् ।

घर भत्किएर खण्डहर थियो । जताततै भत्किएकाले नभत्किएको पर्खालको बरन्डाको खाटमा उनी थचक्क बसिन्। एकछिन पीडाले मीनाले दाह्रा किटिन्, आँखा रसाए । चपक्क आँखा चिम्लेर खाटमा ढलिन् । छ वर्षका छोरा र पाँच वर्षकी अर्की छोरी आमालाई के भयो भनेर छेउमा निन्याउरो मुख लगाएर उभिए । सासूले अर्कोपट्टि एक दिनकी छोरी राखिदिइन् । सासू सुनिता बादीका अनुसार छोराको शल्यक्रिया गरेकाले त्यति हिँडडुल गर्न सक्दैनन् । अर्को छोरा वैदेशिक रोजगारीका लागि मलेसिया गएको उतै बिरामी परेर उपचार गराउँदै छन् । उनको तेस्रो बच्चा भए पनि भूकम्पको पीडाले थिलथिलो भएको मीनाको शरीरले सुत्केरी व्यथा धान्न सकिरहेको थिएन । बस्न घर छैन, खान अन्न छैन । वरपर सबैले पाल टाँगेर ओत बनाइसके । उनको परिवार भने सुत्केरी बोकेर भत्किनै लागेको घरकै बरन्डामा बस्न बाध्य छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्