इपिसेन्टरमा राखियो भूकम्प मापनयन्त्र



जाजरकोट भूकम्पको केन्द्रबिन्दु आसपास बारेकोट गाउँपालिका–२, रोकाया गाउँमा बुधबार भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । गत शुक्रबार रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युटको भूकम्प गएपछि केन्द्रबिन्दुकै आसपास भएर निरन्तर पराकम्पन जाने क्रम जारी छ । हालसम्म ४६६ भन्दा बढी पराकम्पन गएका छन् ।

पराकम्पनको वास्तविक तथ्य लिने गरी यन्त्र जडान गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बताए ।

उहाँका अनुसार अहिलेसम्म देशका विभिन्न स्थानमा रहेका ४२ वटा यन्त्रबाट भूकम्पको तथ्य सङ्कलन गरेर केन्द्रले भूकम्प गएको सूचना दिने गरेको छ । पछिल्लो समय पश्चिम नेपालमा निरन्तर भूकम्प जाने क्रम जारी रहेको बेला यहाँको थप जानकारी तथ्यपरक रूपमा लिन यस यन्त्रले सघाउने उनले बताए  । अधिकारीले भने, “यसले यहाँको भूकम्पको वास्तविक केन्द्रबिन्दु पत्ता लगाउँछ, अनि भूकम्पको कम्पनको मान कति हो भन्ने पनि पत्ता लगाउँछ ।” अन्यत्रको यन्त्रका भरमा अहिले इपिसेन्टर रामीडाँडा तोकिएको छ । अझ त्योभन्दा नजिकको इपिसेन्टरको तय पनि यस यन्त्रले गर्ने छ ।

रुकुम र दैलेखमा यसअघि नै यन्त्र जडान गरिएका छन् तर उत्तरतिर हुम्ला, जुम्ला, मुगु र रुकुमसम्मको स्थान खाली छ । त्यसैले पनि यहाँ सिस्मोमिटर जडान गर्नु परेको जनाइएको छ । स्टेसनहरू वरिपरि छन् र बिचमा भूकम्प गयो भने सबैभन्दा वास्तविक तथ्याङ्क आउँछ ।

अहिले राखिएको सिस्मोमिटर प्राविधिक रूपले अति राम्रो र अद्यावधिक रहेकाले भूकम्पको यकिन तथ्याङ्क दिने अधिकारीले बताए । उनका अनुसार यन्त्र भएको स्थानमा २ म्याग्निच्युटभन्दा साना भूकम्प गएको खण्डमा त्यो पनि रेकर्ड गर्छ । जसले सामान्य गल्तीका लागि स्थान नदिई जे हो त्यही सूचना पठाउँछ ।

गाउँपालिकाले उपलब्ध गराएको सुरक्षित स्थानमा यन्त्र जडान गरिएको केन्द्रका चिन्तन तिमिल्सिनाले बताए । माटोमुनि स्वचालित रूपमा जडान गरिएको यन्त्र यहाँ अस्थायी रूपमा राख्ने योजना छ तर भूकम्प दोहोरिइरह्यो भने राख्ने समय लम्बिन सक्छ ।

उनका अनुसार भूकम्पका दरार कस्ता छन् ? यसको प्रवित्ति र प्रकृति कस्तो छ ? जमिनमुनि भूकम्पको शक्तिको हलचल कता बढी छ ? जस्ता विषयको अध्ययनमा पनि नयाँ राखिएको यन्त्रले सूचना सङ्कलन गरेर पठाउने गर्छ । यन्त्रले पठाएको सूचनाका आधारमा भूकम्पको शक्ति कहिलेदेखि सञ्चित हो ? कत्रो छ? भन्नेसम्मको विश्लेषण गर्न सहयोग पु¥याउने उनी बताउछन्। यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्