आयात वृद्धिसँगै अर्थतन्त्रमा सुधारको संकेत



काठमाडौं । बाह्य अर्थतन्त्रका सूचकमा सुधार भएसँगै आन्तरिक अर्थतन्त्रको सूचकमा पनि क्रमशः सुधारको संकेत देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि खुम्चिरहेको आयात तेस्रो महिना अर्थात् असोज महिनामा आएर आयातमा वृद्धि भएसँगै सुधारको संकेत देखिएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको तेस्रो महिनामा मात्रै आयातमा वृद्धि भएको जनाएको छ । चालु आवको साउन र भदौमा आयात पनि ऋणात्मक हुँदै आइरहेको थियो । जसका कारणले मुलुकको राजस्व संकलनमा पनि प्रत्यक्ष असर पार्दै आइरहेको थियो । असोजमा दशैं÷तिहारलगायतका पर्वलाई लक्षित गरेर वस्तु तथा सामानको आयात वृद्धि भएसँगै आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ ।

नेपालको अर्थतन्त्र आयातित वस्तुमा लगाइने करमा निर्भर रहँदै आएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७९र८० साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा चार खर्ब रूपैयाँको वस्तु तथा सामान आयात भएको थियो ।

चालु आवको सोही अवधिमा गरिएको आयातमा १।६९ प्रतिशतले वृद्धि भएर चार खर्ब सात अर्ब रूपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । चालु आवको असोजमा मात्रै विदेशी मुलुकबाट डेढ खर्ब रूपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ ।

चालु आवको तीन महिनाको अवधिमा नेपालमा आयात गरिने वस्तु तथा सेवामा केही बढे पनि नेपालबाट विदेशी मुलुकमा हुने निर्यात भने अझै पनि खुम्चिएकै छ ।

विभागका अनुसार नेपालले आव २०७९र८० को तीन महिनाको अवधिमा ४१ अर्ब ८२ करोड रूपैयाँको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात गरेको थियो । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपालबाट भने विदेशी मुलुकमा हुने निर्यात २.२६ प्रतिशतले घटेर ४० अर्ब ८७ करोड रूपैयाँमा सीमित भएको छ ।

अर्थ मन्त्रालयले चालु आवको असोज मसान्तसम्मको अवधिमा एक खर्ब ४५ अर्ब आठ करोड रूपैयाँ भन्सार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । सो अवधिसम्म भन्सार विभागले लक्ष्यको ७४.९५ प्रतिशत अर्थात् एक खर्ब आठ अर्ब ७५ करोड रूपैयाँ मात्रै भन्सार राजस्व संकलन गरेको छ । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्