चार अर्बको लगानीमा सेरामिक टायल उद्योग खुल्दै, ५ सय जनालाई रोजगारी



बाँके । पश्चिम नेपालको आर्थिक केन्द्र बाँकेमा विभिन्न ठुला उद्योग कलकारखाना सञ्चालन भइरहेकै बेला छिमेकी जिल्ला बर्दियामा पनि ठुला ठुला उद्योग खुल्न थालेका छन् । सोही क्रममा बर्दिया जिल्लाको गुलरिया नगरपालिका–८ मा तीन अर्ब ९६ करोड लगानीमा सेरामिक टायल उद्योग खुल्ने क्रममा रहेको छ ।

गुलरिया–८ मा उद्योग स्थापना गर्ने गरी सो उद्योग दर्ता भएर सञ्चालनको तयारी भइरहेको छ । सो उद्योगका लगानीकर्ता सुप्रब धितालले उद्योगले जग्गा व्यवस्थापन गरी वातावरण प्रभाव मूल्याङ्कनको प्रक्रिया अघि बढाइसकेको जनाउँदै छिट्टै उद्योग सञ्चालनमा ल्याउने गरी तयारी अघि बढेको बताए । उनले यो उद्योगमा ५०४ जनालाई रोजगारी प्रदान गरिने जनाउँदै तीमध्ये अधिकांश बर्दिया जिल्लाकै बासिन्दा हुने बताए ।

सो उद्योगले वार्षिक दुई करोड ८० लाख सेरामिक टायल उत्पादन गर्ने लक्ष्य लिएको छ । उक्त उद्योगका लागि १० हजार केभिएको प्रसारण लाइनको आवश्यकता पर्ने हुँदा सोका लागि पनि पहल सुरु गरिसकिएको छ । पछिल्लो समयमा आएर बाँके, बर्दियालगायत पश्चिम नेपालका विभिन्न जिल्लामा तयार भइरहेका अत्याधुनिक भवन र घरका लागि टायलको माग अत्यधिक बढ्दै गएकाले सो उद्योग सञ्चालन गर्न थालिएको जनाइएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्