सरकारलाई तीन महिनामा ४६ अर्ब घाटा



काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारलाई ४५ अर्ब रुपियाँभन्दा बढी बजेट घाटा भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक १ गतेसम्म २ खर्ब ८० अर्ब ५७ करोड २५ लाख रुपियाँ खर्च गरेको सरकारले सोही अवधिमा २ खर्ब ३४ अर्ब ६३ करोड २४ लाख रुपियाँ मात्रै आम्दानी गरेको छ । जसबाट सरकारलाई ४५ अर्ब ९४ करोड १ लाख रुपियाँ घाटा भएको हो ।

तीन महिनाको अवधिमा सरकारले कुल बजेट खर्च लक्ष्यको १६ दशमलव शून्य २ प्रतिशत मात्रै गरेको छ । त्यस्तै लक्ष्यको १५ दशमलव ९३ प्रतिशत आम्दानी गरेको छ । चालू आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपियाँ खर्च हुने भन्दै बजेट विनियोजन गरेको थियो ।

उक्त अवधिमा सरकारको चालू खर्च २ खर्ब १३ अर्ब ३९ करोड ४ लाख अर्थात् १८ दशमलव ६९ प्रतिशत, पुँजीगत खर्च १७ अर्ब ८३ करोड ३१ लाख अर्थात् ५ दशमलव ९ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ४९ अर्ब ३४ करोड ९० लाख अर्थात् १६ दशमलव शून्य ५ प्रतिशत खर्च भएको छ ।

चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा राजस्ववापत २ खर्ब १९ अर्ब ११ करोड ५१ लाख अर्थात् १५ दशमलव ४ प्रतिशत आम्दानी गरेको छ । त्यस्तै अनुदान ६ करोड १८ लाख र अन्य आम्दानी १५ अर्ब ४५ करोड ५५ लाख रुपियाँ आम्दानी गरेको छ ।

सरकारले राजस्वबाट १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख, वैदेशिक ऋण तथा अनुदानबाट ४ खर्ब ९९ अर्ब ४ करोड ३० रुपियाँ प्राप्त गर्ने लक्ष्य लिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्