पाँच वर्षमा ९४० सामुदायिक विद्यालय बन्द



काठमाडौं महानगरपालिकाको वसन्तपुरस्थित नवआदर्श माध्यमिक विद्यालयपरिसर अहिले सुनसान छ । स्कुलको बोर्ड पनि हटाइएको छ । विद्यालय प्रांगणमा विद्यार्थीको हल्लाखल्ला नहुँदा वरिपरिका बासिन्दाको मन दुखेको छ । ६५ वर्षअघि स्थापना भएको यो स्कुलमा पढेका विद्यार्थीले अब आफूले पढेको नवआदर्श स्कुलको नाममा प्रमाणपत्र पाउने छैनन् । किनभने काठमाडौं महानगरपालिका शिक्षा विभागले यो स्कुल बन्द गरेको छ ।

विद्यार्थी संख्या न्यून हुँदै गएको, विद्यालयको भौतिक पूर्वाधार जीर्ण भएको र भवन निर्माणका लागि मापदण्डसमेत नपुगेकाले गत भदौदेखि नवआदर्श माध्यमिक विद्यालय बन्द गरिएको महानगर शिक्षा विभागले जनाएको छ । महानगर शिक्षा विभागले उक्त विद्यालय बन्द गरी त्यहाँका विद्यार्थीलाई अन्य विद्यालयमा सारेको छ ।

२०१५ सालमा स्थापना भएको नवआदर्श माविमा कक्षा १२ सम्म पढाइ हुन्थ्यो । स्थानीय बालबालिका पढाउने उद्देश्यले स्थापना भएको उक्त स्कुल शैक्षिक सत्रको बीचमा बन्द हुँदा शिक्षक तथा विद्यार्थी दुखी बनेका छन् । स्कुलका शिक्षक र विद्यार्थीलाई अन्य स्कुलमा व्यवस्थापन गरिसकेको महानगर शिक्षा विभागका अधिकृत मोती भट्टराईले बताए ।

स्कुलका प्रधानाध्यापक रहेका प्रमोदकृष्ण श्रेष्ठले आफू सोही स्कुलमा पढेको र २०५२ सालदेखि शिक्षकको रूपमा प्रवेश गरेको बताउँदै एक्कासि विद्यालय बन्द गरिँदा मन दुःखी बनेको बताए । ‘राम्रै चलेको स्कुल बन्द हुँदा विद्यार्थी तितरबितर भए,’ उनले भने, ‘स्कुलको शैक्षिक गुणस्तर वृद्धि गर्न हामी लागिपरेका थियौं । तर महानगरपालिकाले विभिन्न बहानामा बन्द गरिदियो ।’

सोही स्कुलमा चार दशकदेखि पढाउँदै आएकी शान्ति शाक्य पनि नाम चलेको स्कुलको अस्तित्व मेटिँदा दुःख लागेको बताउँछिन् । ‘२०३९ सालमा म स्वयंसेवक शिक्षकका रूपमा प्रवेश गरेकी थिएँ । त्यो बेला विद्यार्थी कक्षाकोठामा नअटाउँदा उभिएर पढाउनुपर्ने अवस्था थियो,’ शाक्यले विगत सम्झँदै भनिन्, ‘कक्षा १० सम्म पढाइ हुने स्कुलमा हामीले कक्षा ११ र १२ पनि पढाउन थालेका थियौं । तर, पनि महानगरले बन्द गरिदियो ।’

महानगर शिक्षा विभागका अधिकृत भट्टराईका अनुसार पाँच वर्षयता महानगरभित्रका तारिणी आधारभूत, कान्तिश्वरी मावि, श्री कन्या मावि, केशचन्द्र आधारभूत र संकटा आधारभूत विद्यालय बन्द भइसकेका छन् । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्