सत्ता गठबन्धनमा फुट ल्याउने एमाले रणनीति फिक्का



काठमाडौं । कोशी प्रदेश सरकार गठन प्रक्रियालाई लिएर सत्ता गठबन्धनमा फुट ल्याउने प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को रणनीति तत्कालका लागि असफल भएको छ । कोशीको प्रमुख दल एमालेको मुख्य सहयोगमा मुख्यमन्त्री बनेका कांग्रेस नेता केदार कार्कीलाई गठबन्धन दलका शीर्ष नेताहरूले नै विश्वासको मतका साथ सहयोग गरेर जाने निर्णय लिएसँगै एमालेको रणनीति फिक्का भएको हो ।

गठबन्धनका शीर्ष नेताहरूले कांग्रेसभित्र उद्धव थापाको विकल्पमा माओवादीलाई मुख्यमन्त्री दिने निर्णयसँगै कांग्रेसका वरिष्ठ नेता डा। शेखर कोइराला समूहले कोशी प्रदेशमा एमालेसँगको सहकार्य रोजेर कार्कीलाई मुख्यमन्त्री बनाउन सफल भएका थिए ।

कार्की मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता डा. शेखर कोइरालाबीच सहमति भएको छ । नेताहरूले सहमति पत्रमा उल्लेख गरेका छन्– ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं । यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं ।’

सत्ता गठबन्धनका तीन नेताहरूले कोशीमा मुख्यमन्त्री नियुक्तिको विषयले गठबन्धन कमजोर नहुने स्पष्ट पारेका छन् । एमालेले सत्ता गठबन्धनमा फुटको विजारोपण कोशीबाट गरेको चर्चा चलिरहँदा प्रचण्ड, देउवा र शेखर कोइरालाले गठबन्धनमा प्रतिबद्ध रहने सहमति गरेपछि एमालेको रणनीतिमा फिक्कापन देखिएको कतिपय नेताहरूले बताउने गरेका छन् ।

तीन नेताको सहमतिलगत्तै शनिबार प्रधानमन्त्री ‘प्रचण्ड’ले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कोशीका मुख्यमन्त्री गठबन्धनकै मुख्यमन्त्री भएको बताए । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्