कोशीको झट्काले सत्ता गठबन्धनमा संशय



काठामडौं । कोशी प्रदेसको सरकार गठनमा भएको राजनीतिक ध्रुविकरणको असर संघीय सरकारमा पनि पर्ने संकेत देखिएको छ । कोशीको यो झट्काले माओवादी केन्द्रको नेतृत्वमा बनेको संघीय गठबन्धन सरकार १० महिना पुग्दानपुग्दै परिवर्तन हुने स्थिति देखापरेको हो । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला पक्षका केदार कार्की नियुक्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार बिहान कांग्रेससहितको सत्ता गठबन्धनलाई निरन्तरता दिन नयाँ सहमति गर्नुपरेको छ ।

कोशीमा भएको राजनीतिक धु्रवीकरणको बाछिटाले संघीय सरकार प्रभावित हुने देखिएपछि दाहालले सत्ताको प्रमुख घटक कांग्रेसका दुई नेताहरू शेरबहादुर देउवा र कोइरालासँग यही गठबन्धन र सरकारलाई निरन्तरता दिने सहमति गर्नुपरेको हो ।

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रको समेत समर्थन रहेको जनाउँदै दाहालले प्रधानमन्त्री पद जोगाउन कांग्रेसका दुई नेतालाई बोलाएर यस्तो सहमति गरेका हुन् ।

गठबन्धन दलको बुधबारको बैठकले कोशी को मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो । तर कांग्रेस नेता कोइरालाले गठबन्धन दलको निर्णय अस्वीकार गर्दै कार्कीलाई एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न लगाए । कोइरालाको चाहनाअनुसार नै कार्की मुख्यमन्त्री बनेपछि त्यसले कोशी प्रदेशको राजनीतिक समीकरण मात्र होइन, संघीय सरकारको समीकरणमा पनि धक्का पुग्ने आकलन हुन थालेको छ ।

‘कोशीमा नेपाली कांग्रेसले आफ्ना सांसदलाई एक बनाउन नसकेपछि संघीय सरकारको आयु पनि कम हुन्छ भन्ने महसुस हामीलाई भयो’, माओवादीका एक पदाधिकारीले भने । ती पदाधिकारीका अनुसार यसले संघीय सरकार दाहालको नेतृत्वमा लामो समय रहँदैन भन्ने संकेत गरेको छ । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्