सुनको मूल्य पुनः बढ्न थाल्यो



काठमाडौँ । पछिल्लो समय बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ । पछिल्लो १० दिनमा बजारमा सुनको मूल्य तीन हजार पाँच सय रुपियाँले बढेको हो । गत १६ असोजमा मूल्य घटेर प्रतितोला एक लाख छ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार बढेर एक लाख १० हजार एक सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

लामो समयदेखि बढ्दै गएको सुुनको मूल्य अमेरिकी फिडर बैङ्कले ब्याजदर बढाएपछि असोज दोस्रो सातादेखि मूल्य घट्न थालेको थियो । महासङ्घका अनुसार पछिल्लो समय इजरायल प्यालेस्टाइन युद्धको प्रभावले यो साता सुनको मूल्य बढेको छ । सोही प्रभावले कच्चा तेलको मूल्य पनि बढ्न सक्ने अनुमान विश्लेषकहरूले गरेका छन् ।

यो साता विश्व बजारमा सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा चर्किएको द्वन्द्वको प्रभावका कारण लगानीकर्ता सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित हुन थालेकाले सुनको माग बढ्न गई मूल्य वृद्धिमा चाप परेको व्यवसायीको भनाइ छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्