प्रतिबद्धता आउँछ लगानी आउँदैन



काठमाडौं । सरकारले मुलुकको विकास र औद्योगिकीकरणका लागि प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लक्ष्य लिए पनि भित्रिएको मात्रा भने अत्यन्त न्यून छ । विदेशी लगानीकर्ताले नेपालमाका लागि गरेको प्रतिबद्धताभन्दा न्यून लगानी मात्र आउने गरेको हो ।

पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा विदेशी लगानी प्रतिबद्धताको करिब ४४ प्रतिशत मात्र नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७४र७५ देखि २०७८र७९ सम्म विदेशी लगानीकर्ताले २ खर्ब १ अर्ब २९ करोड रूपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सो अवधिमा ८८ अर्ब २० करोड रूपैयाँ मात्र विदेशी लगानी भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । पाँच वर्षको तथ्यांकलाई आधार बनाएर विश्लेषण गर्दा प्रतिबद्धताको करिब ४३।८० प्रतिशत मात्र विदेशी लगानी नेपाल भित्रिएको देखिन्छ ।

विदेशी लगानीकर्ताले कबोल गरेको भन्दा निकै कम मात्र लगानी आउने गरेको पूर्वउद्योग सचिव चन्द्रकुमार घिमिरेले बताए । ‘सरकारी पक्षबाट पर्याप्त लगानी सहजीकरण नगरेपछि लगानीकर्ता हच्किन्छन्,’ घिमिरेले भने, ‘विदेशी लगानी ल्याउन नीतिगत सुधार र पूर्वाधार निर्माणमा सहजीकरण गर्नुपर्छ ।’

घिमिरेका अनुसार विदेशी लगानीकर्ताले सडक, विद्युत्, जग्गा प्राप्तिलगायत प्रक्रिया झन्झटिला छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ मा विदेशी लगानीकर्ताले नेपालमा ५० अर्ब १८ करोड लगानी गर्ने प्रतिबद्धता जनाए ।

सो आर्थिक वर्षमा विदेशबाट १८ अर्ब ८ करोड रूपैयाँ मात्र विदेशी लगानी भित्रियो । त्यसैगरी आव २०७७/७८ मा ३२ अर्ब ७ करोड प्रतिबद्धता आएकोमा १९ अर्ब ५ करोड, आव २०७६/७७ मा ३७ अर्ब ८० करोडमा १९.५ अर्ब, २०७५/७६ मा २५ अर्ब ४८ करोडमा १३.१ अर्ब र आव २०७४/७५ मा ५५ करोड ७६ लाख प्रतिबद्धता आएकोमा ७।५ अर्ब मात्र विदेशी लगानी भित्रिएको थियो ।

विदेशी लगानीकर्ताले पर्यटन उद्योग, सेवा क्षेत्र, मेनुफ्याक्चरिङ, ऊर्जा, कृषि, आइसिटीलगायत क्षेत्रमा लगानी गर्ने गरेका छन् ।

मुलुकको अस्थिर नीति, कानुनी र प्रक्रियागत झन्झटका कारण प्रतिबद्धता जनाएका पनि लगानी नभित्रिएको सरोकारवाला बताउँछन् । पटकपटक फेरिने ऐन, कानुनका कारण विदेशी लगानीकर्ता अझै पूर्ण विश्वस्त हुन नसकेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताउँछन् । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्