शिक्षकहरूको आन्दोलनका कारण विद्यालयका पठनपाठन ठप्प



काठमाडौँ । सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन ठप्प भएको छ ।

सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासङ्घले आजदेखि देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेसँगै देशभरका ७० लाखभन्दा बढी विद्यार्थीको पठनपाठन ठप्प बनेको हो ।

महासंघले आजदेखि ​देशभरका विद्यालय अनिश्चित कालका लागि बन्द गरेको हो ।

आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन आए पछि देशैभरीका सामुदायिक विद्यालय बन्द भएका हुन् ।

मागहरू सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलनको घोषणा गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्