बीआरआई कार्यान्वयनमा ‘ब्रेक’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण औपचारिकतामा सीमित हुने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले दाहालको चीन भ्रमणका क्रममा सहमति, समझदारी र केही हस्ताक्षरपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनको विषयमा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा कुनै प्रस्ताव पेस नगरे पनि अन्य समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने विषयमा निर्णय भएको छ ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा असोजको पहिलो साता दाहाल अमेरिकाबाट चीन भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री दाहाल हाङ्जाओ, बेइजिङ र चोङ्किङको भ्रमण गरी तिब्बत हुँदै स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

बीआरआईको कार्यान्वयन योजनामा हस्ताक्षरको विषयलाई गौण बनाएर दाहालले बीआरआई आयोजनालाई अनुदानका रूपमा चीनसँग लिने विषयमा पहल गर्ने बताइएको छ ।

बीआरआईअन्तर्गत बन्ने आयोजना ऋणका रूपमा नलिने बरू अनुदानमा दिए स्वीकार गर्ने विषयमा चीनसँग प्रधानमन्त्रीले पहल गर्ने विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल भएको एक मन्त्रीले राजधानीसँग बताए ।

ती मन्त्रीका अनुसार हाल सीमापार ऊर्जा सहयोगलगायतको महŒवपूर्ण योजनाको विषयमा चीनसँग छलफल गर्ने कार्यसूची छैन । बरू चीनले नेपालमा बनाएको परियोजनाको विषयमा ऋण मिनाहका लागि चीनसँग आग्रह गर्ने विषयमा मन्त्रिपरिषद्मा कुरा उठेको छ ।

साथै, चीनबाट ल्याइएका विमानको ऋण मिनाहको विषयमा प्रधानमन्त्रीले चिनियाँ पक्षसँग छलफल गर्नेछन् । चीनबाट खरिद गरिएका पाँचवटा विमान नेपालमा ग्राउन्डेड छन् । कुनै पनि आम्दानी गर्न असफल भएपछि ग्राउन्ड गरिएका चिनियाँ विमानलाई के गर्ने भन्नेमा सरकार अन्योलमा छ ।

सो विमान खरिद गर्दा करिब ३० अर्ब रुपैयाँ ऋणमा दुईवटा विमानको ऋण मिनाह गर्न आग्रह गर्नेछन् । यद्यपि, चिनियाँ पक्ष सो ऋण मिनाहका लागि तयार नभए पनि एकपटक प्रधानमन्त्रीले चीनसँग छलफल गर्ने ती मन्त्रीको भनाइ छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्