खुलेन सुन तस्करीको मुख्य कारोबारी



काठमाडौं । सुन तस्करीको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान प्रतिवेदन बुझाउने समय नजिक आउँदा पनि लगानीकर्ता यकिन गर्न सकेको छैन । चीनतर्फका लगानीकर्ता चिनियाँ नागरिक नै हुन् भने पनि प्रमुख व्यक्ति अझै पत्ता लागिसकेको छैन ।

त्यस्तै भारततर्फ किन्ने समूह पनि पत्ता लागेको छैन । ‘हालसम्म पक्राउ परेकाहरू बिचौलिया र नेपालबाट सुन सप्लाई गर्नेहरू मात्रै रहेका छन्,’ सिआइबी स्रोतले भन्यो । संगठित अपराध र अन्तरदेशीय अपराधमा अनुसन्धान गरिरहेको सिआइबीले अनुसन्धानका लागि समय अपुग भएको र यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै एकदुई दिनमै प्रतिवेदन सरकारी वकिलको कार्यालय पठाउने भएको छ ।

सिआइबीका प्रमुख एआइजी किरण बज्राचार्यले अनुसन्धान प्रतिवेदन तयार गरिहाल्नुपर्ने कानुनी बाध्यता रहेकाले एकदुई दिनभित्रै सरकारी वकिल कार्यालय पठाउने बताइन् । ‘६० दिनभित्र अदालतमा मुद्दा टेकाइ सक्नुपर्ने कानुनी बाध्यता रहेको छ, जसले गर्दा अनुसन्धान प्रतिवेदन चाँडै बुझाउनुपर्ने बाध्यता रहेको हो,’ एआइजी बज्राचार्यले भनिन् ।

सरकारी वकिल कार्यालयले ताकेता गरेकाले सिआइबीले सकेसम्म मंगलवारे अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्