कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते हुने



भक्तपुर । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आगामी असोज ६ र ७ गते हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा गर्न लागिएको जानकारी दिए ।

विगतका वर्षमा दुई वटासम्म विषयमा एनजी आउँदा ती विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा त्यही वर्ष दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो ।

यस वर्षदेखि उक्त व्यवस्था परिमार्जन गरी जति वटा विषयमा एनजी आएको हो त्यसको मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको उनको भनाइ छ ।

यस वर्षको नतिजाअनुसार १ लाख २३ हजार तीन सय ९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने अध्यक्ष शर्माले बताए । जसमध्ये एक विषयमा मात्र एनजी आउने ७९ हजार पाँच सय ८४ विद्यार्थी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्