बाल उद्धार माविको ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न (फोटो फिचर)



काठमाडौँ । नेपाल सरकारद्वारा नमूना विद्यालयको रुपमा छनोट बूढानीलकण्ठ–१० स्थित बाल उद्धार माध्यमिक विद्यालयको ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न भएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा  कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगन थापा , नेपालका लागि चीनका राजदुत चेन सोङ्ग, प्रदेश सभा सदस्यहरु जयराम थापा, मिना पराजुली, राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटी, बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडाध्यक्षहरु नवराज भट्टराई एवम् शम्भुप्रसाद भट्टराई, जनप्रतिनिधिहरु ,बिभिन्न पार्टीका प्रतिनिधिहरु, अक्षयकोष दाताहरु, विद्यालय व्यबस्थापन समितिका पूर्व अध्यक्षहरु लगायत पूर्व प्रधानाध्यापकहरु, शिक्षा सेवी, समाजसेवी, विद्यालयका अभिभावक, विद्यार्थीहरु तथा शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि सभामुख घिमिरेद्वारा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा संघीय सांसद गगन थापा, प्रदेश सभा सदस्य जयराम थापा, नगर प्रमुख मिठाराम अधिकारी, नगरप्रवक्ता एवम् वडाध्यक्ष नवराज भट्टराई , बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरे, प्रधानाध्यापक बिनोद पण्डितले सम्बोधन गरेका थिए ।

सभामुख घिमिरेले देशमा राजनीतिक परिवर्तनसँगै स्थापना भएको बाल उद्धार माध्यमिक विद्यालयले समयक्रमसँगै नमूना माध्यमिक विद्यालयको मान पाउँदै शैक्षिक क्षेत्रमा राम्रो योगदान दिईरहेको बताए । उनले भने, ‘नेपालमा बालबालिकालाई सही ढङ्गबाट शिक्षा प्रदान गर्न सकियो र व्यवहारमा लागू गर्न सकियो भने बालबालिकाको उद्धार र विकास हुनेछ ।’  

त्यसैगरी काठमाडौँ क्षेत्र नं. ४ का संघीय सांसद गगन थापाले विद्यालयले छाटो समयमा गरेको प्रगतिका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुलाई बधाई ज्ञापन गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबैले लाग्नुपर्ने बताए ।

नेपालका लागि चीनका राजदुत चेन सोङ्गले बाल उद्धार माध्यमिक विद्यालयले ३० वर्षको अवधिमा यस क्षेत्रमै गुणस्तरीय शिक्षा प्रदान गर्दै देशलाई उत्कृष्ट प्रतिभा दिएकोमा खुशी व्यक्त गरेका थिए । साथै विद्यालयले ऐच्छिक विषयको रुपमा सुरुवात गरेको चिनियाँ भाषा कक्षाको सफलताको लागि समेत शुभकामना व्यक्त गरेका छन् ।

नगरप्रमुख मिठाराम अधिकारीले विद्यालयको शैक्षिक उन्नयनका लागि नगरपालिका सदैव उदार रहेको र आफ्नै घर आँगनको स्कूल बाल उद्धार माध्यमिक विद्यालयको उन्नती, प्रगतीमा सदैव साथ सहयोग रहिरहने अभिव्यक्ति व्यक्त गरेका थिए ।

नगर प्रवक्ता एवम् बूढानीलकण्ठ–१० का वडाध्यक्ष नवराज भट्टराईले विद्यालयको भौतिक शैक्षिक लगायतको विकासमा विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा समेत निरन्तर सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले विद्यालयको चौतर्फी विकास गर्न योगदान गर्ने संघसंस्था, शुभेच्छुक एवम् शिक्षकहरुप्रति आभार प्रकट गरेका छन् । उनले आफ्नो महत्वपूर्ण समय विद्यालयमै खर्चिएको बताउँदै आर्थिक अभावका कारण बालबालिकालाई शिक्षाबाट बञ्चित हुन नदिन विद्यालय व्यवस्थापन समिति प्रतिवद्ध रहेको जानकारी गराए । साथै विद्यालयको भौतिक, प्रशासनिक र शैक्षिक गुणस्तर सुधारमा आफू कटिबद्ध भएर लागि परिरहने बताए ।

फोटोमा बाल उद्धार माविको ३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

प्रतिक्रिया दिनुहोस्