वीर अस्पतालमा जलन वार्ड सञ्चालन गर्ने निर्णय अलपत्र



काठमाडौँ । वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड सञ्चालन गर्ने विषयमा वीर अस्पताल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच मत बाझिएको छ । वीर अस्पतालले जलन वार्डका लागि केही भौतिक पूर्वाधार तयार पारे पनि सञ्चालनका लागि मन्त्रालयसँग बजेट मागेको तर त्यो नआउँदा सञ्चालन गर्न नसकिएको धारणा प्रस्ट गरेको छ । तर मन्त्रालयले बजेट अभावकै कारण वार्ड सञ्चालन गर्न नसकिने अवस्था नरहेको तर्क गरेको छ ।

गत फागुन ३ गते राति प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी र उनकी आमा आगलागीमा परी गम्भीर दुर्घटना हुँदा उपचारमा समस्या परेको थियो । आमा चन्द्रकला भण्डारीको घटनाको भोलिपल्ट निधन भयो भने सांसद भण्डारीको उपचार नेपालमा नहुने भएपछि भोलिपल्टै भारत लगिएको थियो ।

वीर अस्पतालमा कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड सञ्चालन गर्ने भनी पहिलो निर्णय नै गरेका थिए । निर्णयको तीन महिना बित्दा पनि त्यसबारे वीर अस्पताल प्रशासन र स्वास्थ्य मन्त्रालयबीच समन्वयको अभाव देखिएको छ । काम पनि अगाडि बढेकै छैन ।

भारतको मुम्बईबाट उपचार गरी फर्किएका सांसद् भण्डारीले सरकारी अस्पतालमा उपचार गराउन पाएका छैन । उनी कीर्तिपुर बर्न अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँकै एक निजी अस्पतालमा थप उपचार गराइरहेका छन् ।

वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलले स्वास्थ्य मन्त्रालयले आवश्यक बजेट व्यवस्था गर्न नसक्दा वार्ड सञ्चालन गर्न नसकिएको दाबी गरे । उनले जलन वार्ड सञ्चालनका लागि अस्पतालले गर्नुपर्ने सम्पूर्ण कार्य पूरा गरिसकेको जानकारी दिए । उनले जलन वार्डका लागि आवश्यक चिकित्सक, शय्या, सघन उपचार शय्या तथा स्थानको समेत व्यवस्था भइसकेको भए पनि केही उपकरण र नर्सिङ जनशक्ति पूरा नभएको एवं त्यसका लागि बजेट मन्त्रालयले आवश्यक बजेट व्यवस्था गर्न नसकेको आरोप लगाउनुभयो । “वीर अस्पताल स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा पर्न सकेन” उनले भने ।

वीर अस्पतालले २५ शय्या क्षमताको छुट्टै जलन कक्ष सञ्चालन गर्नका लागि तयारी अघि बढाएको थियो । वीर अस्पतालका प्रवक्ता सागर मिश्रले मन्त्रालयमा जलन वार्डसम्बन्धी तीन करोड रुपियाँको प्रस्ताव पठाइएको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्