
काठमाडौँ । सरकारमा जाने र समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनिर्णीत छ । ‘सरकारमै फर्किने कि समर्थन फिर्ता गरेर प्रतिपक्षमा जाने ?’ भन्नेबारे दुई धार हुँदा पार्टी अनिर्णीत बनेको हो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन यथावत् राखेको रास्वपा फेरि सरकारमा सहभागी हुने चर्चा चलिरहेको छ । सरकारमा सहभागीताका लागि पार्टीमा फरक/फरक मत छ । पूर्वशर्त मान्न तयार भए सरकारमा गएर उल्लेख्य काम गर्नुपर्ने मत एकपक्षको रहेको छ भने कतिपयले सरकारमा सहभागी नभएरै प्रतिपक्ष बस्नुपर्ने मत राखेका छन् । सोही कारणले सरकारबारे निर्णय गर्न रास्वपालाई असहज भएको हो ।
पार्टीका प्रवक्ता मुकुल ढकालले अब बस्ने बैठकले चर्चामा रहेका विषयको टुङ्गो लगाउने बताए । ‘पार्टीमा सरकारबारे ठोस निर्णय गर्नुपर्ने आवाज उठिरहेको छ । तर संस्थागत धारणा अझै निर्क्योल गर्न सकिएको छैन । अहिले केही समय हाम्रा माग सम्बोधनबारे सरकारको तदारुकता हेरिरहेका छौँ,’ उनले भने ।
व्यक्तिगत रूपमा पार्टी सभापति रवि लामिछाने सरकारमा जान तयार भएपनि पार्टीभित्र र शुभेच्छुकको दबाबका कारण रास्वपा सरकारमा जाने सम्भावना न्यून रहेको बताइन्छ । यहिबीच प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीले लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेका छन् । एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आएपछि रास्वपा अध्यक्ष लामिछाने मंगलबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग छलफल गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनमत सरकारसँग असन्तुष्ट छ । एमाले, रास्वपा, जनमत, जसपासहितका दलसँग मिलेर नयाँ गठबन्धन बनाउने र सरकारको नेतृत्व गर्ने लामिछाने छलफल अगाडि बढाएका हुन् । एमालेबाट आएको प्रस्तावअनुसार अन्य दलसँग छलफल भइरहेको रास्वपा स्रोतले बतायो ।





