आमाको विकल्पमा मावली



काठमाडौं । एकल महिलाको विवाह भएको अवस्थामा विवाहअघि जन्माएको बच्चाको जन्मदर्ता मावलीको थरबाट गर्न सरकारले निर्देशन दिएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार एकल महिलाका बच्चाको जन्मदर्ताको विषयमा यस्तो परिपत्र जारी गरेको हो।

परिपत्रमा उल्लेख भएअनुसार विवाह भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएका महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको भए सो बच्चाको मावलीकै थर राखी आमाको हालको ठेगानामा जन्मदर्ता गरिदिन भनिएको छ। त्यस्तै विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उसको बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गरिदिने व्यवस्था गर्न भनिएको छ।

त्यस्तै जन्मदर्ता भएपछि बाबुको ठेगाना पत्ता लागेको अवस्थामा अघि गरेको जन्मदर्ता रद्द गरी बाबुको ठेगानामा नयाँ जन्मदर्ता गरिदिन सबै जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयलाई भनिएको छ।

भर्खरै सार्वजनिक भएको जनगणनाको तथ्याङ्कअनुसार कुल ३० लाख सात हजार ६४८ जना साना बालबालिकामध्ये ७४ प्रतिशतको जन्मदर्ता गराएका छन्। बाँकी २६ प्रतिशतले भने जन्मदर्ता गरेका छैनन्। अठार वर्षभन्दा मुनिका नाबालिगको सङ्ख्या ९८ लाख ६९ हजार ५८३ छ।

जसअनुसार आमासँग मात्र बस्ने बालबालिका १७.१ प्रतिशत एवं मावली र अन्य नातेदारसँग बस्ने बालबालिका ३.०० प्रतिशत छन्। आमाले अर्को विवाह गरेको अवस्थामा सौतेनी बाबुसँगै रहेका बालबालिकाको सङ्ख्या ०.१ प्रतिशत मात्र छ। सबैभन्दा धेरै आमासँगै रहेको देखिन्छ।

विभागले यसअघि बाबु पत्ता नलागेको खण्डमा आमाको नाम र थरबाट जन्मदर्ता गराउन सकिने परिपत्र २०७९ कात्तिक ३० गते गरेको थियो। आफ्नै निर्णयमा असर गर्ने गरी आएको नयाँ परिपत्रले महिलालाई फेरि पुरुषकै भरमा रहेको निरीह महिलाका रूपमा चरितार्थ गर्न खोजिएको आरोप अधिकारकर्मीहरूले लगाएका छन्। यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्