विदेशी लगानी स्वीकृत स्वचालित गरिँदै



उद्योग विभागले दस करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट)बाट स्वीकृत हुने व्यवस्था मिलाउने भएको छ । उद्योग विभागले लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ लाई संशोधन गरेर दुई करोडदेखि दस करोड रुपियाँसम्म लगानी हुने परियोजनारप्रस्ताव स्वचालित मार्गबाट स्वीकृत हुने व्यवस्था गरेको हो ।

हाल विद्यमान रहेको प्रक्रिया झन्झटिलो भएकाले यसलाई सरलीकृत गरेर सिधै स्वचालित मार्गबाट हुने व्यवस्था गरिएको विभागले जनाएको छ । विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीले नियमावली संशोधन गरेर विदेशी लगानी स्वचालित मार्गबाट स्वीकृत हुने व्यवस्था गरिएको जानकारी दिए ।

न्यूनतम आवश्यक डकुुमेन्ट पूरा गरेका लगानीकर्ताको विदेशी लगानी स्वचालित मार्गबाट स्वीकृत हुँदा छिटोछरितो हुने उनको भनाइ छ ।

“यसअघि अनलाइनबाट विदेशी लगानी स्वीकृत भए पनि कर्मचारी आवश्यक पर्ने हुँदा झन्झटिलो थियो, अब स्वचालित हुँदा लगानीकर्तालाई लगानी गर्न सहज हुन्छ­­,” उनले भने । नियमावली संशोधन गरेर मन्त्रीपरिषद्मा पेस गरिएकाले पारित भएसँगै कार्यान्वयनमा आउने विभागले जनाएको छ ।

राजपत्रमा सूचना प्रकाशित स्वचालित मार्गबाट सेवा प्रदान गर्न सकिने गरी निर्धारण गरेको लगानीको सीमामा नबढ्ने गरी शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना वा विदेशी लगानीमा संस्थापना भई सञ्चालनमा रहेको कम्पनीको तत्काल पुँजी वृद्धिका लागि गर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ ।

स्वचालित मार्गबाट विदेशी लगानीसम्बन्धी सेवा उपलब्ध गराउने प्रयोजनका लागि विभागले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन तथा नियमावलीबमोजिम विदेशी लगानीको स्वीकृतको लागि पेस गर्नुपर्ने विवरण तथा कागजपत्र विद्युतीय प्रणालीबाट पेस गर्न सकिने गरी विद्युतीय प्रणाली सञ्चालन गरिने विभागले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्