अवरोध हटे पनि अलमलमा परेको सर्भिस लेन



माइतीघर–सूर्यविनायक छ लेन सडक विस्तारका लागि कोटेश्वर–जडीबुटी खण्डको सर्भिस लेनमा रहेको जटिल अवरोध हटेर सर्भिस लेन कालोपत्रे भइसकेको छ तर त्यसअघि नै अवरोध हटिसकेको जडीबुटी चोकदेखि पूर्व मनोहरा पुलसम्मको उत्तर–दक्षिणको सर्भिस लेन भने अझै नबन्दा उक्त सडक खण्डमा हुँदैआएको ट्राफिक समस्या ज्यूँका त्यूँ छ।

यही कारण मनोहरामा बनेका सर्भिस लेनको उत्तरतर्फको पुल बस तथा मिनी बसका लागि निःशुल्क पार्किङस्थल बनेको छ र माइतीघर–सूर्यविनायक सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। समग्रमा भने बाटो नखुल्नुले ट्राफिक समस्या मात्र बढाएको छैन, पूर्वाधार विकासमा सरकारका सम्बन्धित निकायको प्राथमिकताको पनि पोल खोलेको छ।

जडीबुटी चोकमा सडक विस्तार गरिए पनि चोकदेखि पूर्व मनोहरा खोलाको पुलसम्म मूल सडकका दायाँ र बायाँ बनाइएको सर्भिस लेन निर्माण हुनसकेको छैन। सर्भिस लेन निर्माण नभएसम्म सो क्षेत्रमा सवारी जामको समस्या समाधान हुन नसकेको हो। जापानी सहयोग नियोग (जाइका)को सहयोगमा २०६१ सालमा माइतीघर–सूर्यविनायक सडक छ लेनमा विस्तार भएको थियो।

माइतीघर–सूर्यविनायक सडकको जडीबुटी चोकको पश्चिम–उत्तर चोकमा रहेको एउटा घर नहटाउँदा छ लेनको अति व्यस्त सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन। गत भदौमा काठमाडौँ महानगरपालिका र काठमाडौँ सडक डिभिजन कार्यालयको समन्वयमा सो घर हटाइएपछि सडक विस्तार कार्य सुरु भएको थियो। यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्