काभ्रे एकीकृत खानेपानी योजना : आकाशको फल आँखा तरी मर



काभ्रेपलाञ्चोकको बनेपा, पनौती र धुलिखेलका उपभोक्ता एकीकृत खानेपानी कुरेर बसेको १० वर्ष भयो । समाचार काम सकिएको भनेर आउँछ, नेताहरूले भाषणमा ९७ प्रतिशत काम सकिएको दाबी पनि गर्छन् । तर उपभोक्ताको धारामा पानी नझरेपछि स्थानीय बासिन्दा खानेपानीको भर गर्न छाडेका छन् ।

खानेपानीको सबैभन्दा ठूलो समस्या नै बनेपा र पनौतीमा रहेको तथा धुलिखेलमा तुलनात्मक रूपमा समस्या कम भएकाले धुलिखेलले यसबारे चासो कम दिएको आरोप बनेपा र पनौतीको छ । हरेक वर्ष प्रतिशतमा काम बढे पनि धारामा पानी नझर्दा स्थानीय बासिन्दाको व्ययभार पानीकै कारण बढिरहेको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बताए ।

चरम भ्रष्टाचार र नेतृत्वकर्ताको असमक्षताका कारण आयोजना पूरा नभएको उनले बताए । तीनवटा नगरका प्रमुखको सहभागिता रहने भए पनि यस आयोजनाको नेतृत्व धुलिखेलका प्रमुख अशोक ब्याञ्जूले गरेको र नेतृत्व पूूर्ण असफल भएको उनले आरोप लगाए । एक अर्बभन्दा धेरै खर्च भएको आयोजनामा लापरबाहीले सीमा नाघेको बताउँदै उहाँले नगरपालिकाले बेहोर्ने भनिएको ऋणका ब्याजबारेमा पनौतीले पुनः विचार गर्ने बताए ।

बनेपा नगरपापालिका प्रमुख शान्तिरत्न शाक्यले आफूले निर्वाचनमा प्रतिबद्धता जनाएअनुसार खानेपानी खुवाउने कार्यमा अघि बढेको बताए । उनले व्यक्तिगत प्रयासमा आजाद माविको ट्याङ्कीमा पानी खसाउन सफल भएको बताए। काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना व्यवस्थापन बोर्डका अध्यक्ष तथा धुलिखेलका नगर प्रमुख ब्याञ्जूले ९७ प्रतिशत काम सकिएको बताए। उपभोक्ताको धारामा पानी नआएसम्म कामको प्रगति नदेखिने भएकाले खानेपानीको काम नभएकोजस्तो देखिएको बताउँदै उनले ठेकेदार कम्पनीले अदालतमा मुद्दा दायर गरेकाले तीन प्रतिशत काम बाँकी रहेको बताए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्