गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो



सोमबारदेखि व्यावसायिक सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो बढेको छ ।कुवेतको जजिरा एयरवेजले सोमबार यात्रुसहित अवतरण र उडान गरेसँगै औपचारिक रूपमा सञ्चालनमा आएको यो नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले साताको तीन उडान गर्ने तय भइसकेको छ । वैदेशिक रोजगारीका लागि खाडी मुलुक आउने जाने नेपाली र लुम्बिनी घुम्न आउने धार्मिक पर्यटकलाई आकर्षित गर्ने लक्ष्यसहित सञ्चालनमा आएको यो विमानस्थलमा हाल काठमाडौँमा उडान गर्दै आएका अन्य विदेशी हवाई कम्पनीले चासो बढाएका हुन् ।

भैरहवामा उडान गर्न श्रीलङ्कन एयरलाइन्स, कतार एयरवेज, एयर अरेबिया, थाइल्यान्डको थाई स्माइल, ओमानको सलाम एयरले चासो देखाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले पनि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न चाहेका छन् । प्राधिकरणका अनुसार एयर अरेबिया, सिङ्गापुर एयरलाइन्स, कम्बोडिया एयरवेज, स्माइल, सलाम एयरलगायतका हवाई कम्पनीले साउनभित्रै उडान गर्ने तयारी गर्दै प्राधिकरण तथा ट्राभल एजेन्सीसँग छलफलसमेत गरिरहेका छन् तर यी कम्पनी अनुमति लिने प्रक्रियामा भने गइसकेका छैनन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्