नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क नचाहिने !



मुलुकमा १५ वटाभन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको सर्वेक्षणले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको देखाएको हो । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक तथा विज्ञ गरेर २३० जनामा सर्वेक्षण गरेको थियो । सर्वेक्षणले मुलुकको अर्थतन्त्रको आकार, प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन र जनसङ्ख्याका आधारमा वाणिज्य बैङ्कहरूको सङ्ख्या धेरै रहेको र हाल सञ्चालनमा रहेका बैङ्क तथा वित्तीय संस्थाको कुल सङ्ख्या पनि आदर्श अवस्थाभन्दा बढी रहेको निष्कर्ष निकालेको छ ।

सर्वेक्षणमा ५० प्रतिशतभन्दा बढी उत्तरदाता (रेस्पोन्डेन्ट)ले नेपालमा ११ देखि १५ वटा वाणिज्य बैङ्क भए पुग्ने राय दिएका छन् । उनीहरूले अहिलेको अवस्थामा नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क नचाहिने राय दिएका हुन् । यस्तै ५ प्रतिशत उत्तरदाताले पाँचदेखि १० वटा बैङ्क हुनुपर्ने राय दिएका छन् भने १५ प्रतिशतले १६ देखि २० वटा बैङ्क चाहिने बताएका छन् । बाँकीले भने २० देखि २५ बैङ्क हुनुपर्ने राय दिएका छन् । सर्वेक्षणमा सहभागीमध्ये ५७ प्रतिशतले सुविधा दिएर गाभ्ने अवसर दिनुपर्ने विचार दिएका छन् भने २० प्रतिशतले फोर्स मर्जर गर्नुपर्ने बताएका छन् । ६१ प्रतिशतले कमजोर र बलिया बैङ्क तथा वित्तीय संस्थाबीच मर्जर गर्नुपर्नेमा जोड दिएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्