अमेरिका र नेपालमा एमसीसीबारे हुने छलफल समन्वय कि संयोग ?



सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गतेका लागि संघीय संसदका दुवै सदनको बैठक डाकेकी छन् । संसद बैठकबारे अहिलेसम्म कुनै कारण खुलाइएको छैन । संयोग हो वा समन्वय सोही दिन मिलेनियन च्यालेन्ज कम्प्याक्ड (एमसीसी) को वासिङटनस्थित मुख्यालयले सोही दिन बोर्ड बैठक पनि राखेको छ । जसले एमसीसी नेपाल सम्झौताबारे छलफल हुने कार्यसूची तय गरेको छ ।

एमसीसीलाई नै मुख्य एजेन्डा बनाएर २ साताअघि नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले एमसीसी तत्काल संसदबाट अनुमोदन गर्न अनुरोध गर्दै अनुमोदन नभए सो परियोजना अन्तर्गतको ५० करोड अमेरिकी डलर अनुदान सहयोग अन्य मुलुकमा दिने चेतावनी समेत दिएका थिए ।

केपी ओलीले सरकारमा हुदाँ एमसीसीलाई छलफलको लागि संसदमा प्रस्तुत गर्न चाहेका थिए । त्यसबेला एमसीसी पास वा फेल भन्दापनि संसदभित्रको छलफलमा त्यसलाई समावेश गर्ने प्रयास नेकपा माओवादीकै कारणले सफल हुन सकेको थिएन ।

अहिले ओली नेतृत्वको नेकपा एमाले सरकार बाहिर छ । हिजो ओली सरकारमा माओवादी रहँदा एमसीसी बिना संसोधन पास गर्नु नुहने पक्षमा रहेका प्रचण्ड अहिले एमसीसी कम्प्याक्टलाई अल्झाउन नहुने बताउन थालेका छन् । हिजो विपक्षमा रहदाँ वा आज सत्ताको बागडोर सम्हाल्दा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी एमसीसी पास गराउने पक्षमा छन् ।

हामीले एमसीसीबारे संसदको ठूलो दल नेकपा एमालेका केही निर्णायक नेताहरु र सत्ता साझेदार नेकपा समाजवादी पार्टीका महासचिव डा.वेदुराम भुषालसँग एमसीसीबारे गरेको कुराकानी सार संक्षेप :

नेकपा एमाले केन्द्रीय सदस्य तथा सांसद गोमा देवकोटा :

आउँदो संसद बैठकबारे जानकारी प्राप्त भएको छ । तर बैठकका एजेण्डाबारे भनिएको छैन । सायद संसदको दुवै सदनमा एमसीसीको एजेण्डाले प्रवेश पाउने सम्भावना छ । नेकपा एमालेले एमसीसीको पक्षमा वकालत गर्छ जस्तो लाग्दैन । व्यक्तिगत रुपमा एमसीसी खारेज हुनुपर्छ भन्ने पक्षमा मेरो मत छ । मैले यो विषयमा आफ्नो धारणा अध्यक्ष केपी ओलीलाई बताइसकेको छुँ ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा सांसद खेम लोहनी :

नेकपा एमाले सरकारमा हुदाँ छलफल समेत गर्न नदिएको विषयमा विरोध गर्नेहरु आज एमसीसीका पक्षधर भए । यो संवेदनशील विषय हो । एमसीसीमा आवश्यकता भन्दा बढी सर्तहरु छन् । नेपालको कानून, कर्मचारी व्यवस्थापन, बौद्धिक सम्पत्ति जस्ता विषयहरु पेचिला बनेका छन् । आम नेपाली जनताको भावना अनुसार नेकपा एमालेले अब एमसीसी पास गर्न सक्दैन । हिजो परियोजनामा हस्ताक्षर गर्ने नेपाली कांग्रेस र सहयोग गर्ने नेकपा माओवादीले यसबारे जनतालाई बताउनुपर्छ ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा सांसद कोमल वली :

नेकपा एमाले एमसीसीको पक्षमा हुनै सक्दैन ।

नेकपा समाजवादीका महासचिव तथा सांसद डा.वेदुराम भुषाल :

नेकपा समाजवादीले एमसीसी जस्ताको तस्तै पास गर्छ भन्ने मलाई लाग्दैन । नेपाल र अमेरिकामा एकैदिन एमसीसीबारे कुराकानी हुनु संयोग नै होला । संसदबाट एमसीसी पास गर्ने कुरा केपी ओली र शेरबहादुर देउवाले गर्लान् तर हामी गर्दैनौँ ।

नेकपा एमालेका केन्द्रीय सदस्य डा.राजन भट्टराई :

केपी शर्मा ओली प्रधानमन्त्री हुदाँ उनको परराष्ट्र मामिला सल्लाहकार रहेका डा.राजन भट्टराई पार्टीका पूर्व विदेश विभाग प्रमुख समेत हुन् । संसदमा उनको उपस्थिति नभएपनि विदेश मामिलासम्बन्धी पार्टीको धारणा बुझ्दा डा. भट्टराईले एमाले माधव नेपाल सांसद र अग्नी सापकोटा सभामुख रहुन्जेल संसद नै चल्न दिदैनौँ भने ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा १ नं.प्रदेश नेकपा एमालेका अध्यक्ष देवराज घिमिरे :

एमसीसीको विषयमा नेकपा एमालेले आफ्नो कुनै धारणा बनाउँदैन । यो विषयमा अहिले हामी जिम्मेवार हुनुपर्ने नभएकोले छलफल र बहस गर्न नै जरुरी ठान्दैनौँ ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष आनन्द प्रसाद पोखरेल :

व्यक्तिगत रुपमा एमसीसी पास हुनु हुदैँन भन्ने मेरो मान्यता छ । परिवर्तित परिस्थितिमा पार्टीले एमसीसीको पक्षमा वकालत गर्छ जस्तो लाग्दैन । 

प्रतिक्रिया दिनुहोस्