नेकपा एमालेको उपाध्यक्षका प्रभावशाली दाबेदार देवराज घिमिरेको जीवनकथा (भिडियो सहित)



ताप्लेजुङको सिकैचा–६ (हाल श्रीजंगा गाउपालिका ३) मा बुबा पदम प्रसाद घिमिरे र आमा भिमकुमारी घिमिरेको कोखबाट १२ जना छोराछोरीमध्ये माइलो छोराको रुपमा वि.सं. २०१३ साल जेठ १३ गते देवराज घिमिरेको जन्म भएको थियो ।

गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षाको सुरुवात गरेका घिमिरेले ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाई स्कुलबाट वि.सं.२०२९ सालमा एस.एल.सी उत्तीर्ण गरेका छन् । धरानको महेन्द्र बहुमुखी क्याप्पसबाट आई.ए.उत्तीर्ण गरेका घिमिरेले पार्टी कामको सिलसिलामा समय समयमा कलेज छाड्दै पढ्दै गर्नुपर्यो । काठमाडौँको त्रिचन्द्र क्याप्पसमा डिप्लोमा पढ्दा पढ्दै पार्टीको बुर्जुवा शिक्षा बहिष्कार गर्ने निर्णय मान्दै पूर्णकालीन कार्यकर्ताको रुपमा नेपाल कम्युनिष्ट पार्टीको संगठन विस्तारमा लागेका घिमिरेको औपचारिक शिक्षा भने यहि टुंगियो ।

राजनीतिमा प्रवेश :
वि.सं.२०३१ सालमा झापा विद्रोहपछि अपिल प्रशारणको लाइनबाट नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके)गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिए । २०३३ सालमा बुर्जुवा शिक्षा बहिष्कार गर्दै गाउँ गाउँ पुगेर पार्टीको संगठन निर्माणमा खटेका घिमिरेले भूमिगत भएर कोकेमा काम गरेको ३ बर्षपछि २०३५ साल भदौमा पार्टी सदस्यता प्राप्त गरे ।

२०३५ पुष ११ गते कम्युनिष्ट घटकहरु मिलेर नेकपा माले बनेपछि घिमिरेले तेह्रथुम र पाँचथर जिल्लामा संगठकको रुपमा पार्टीको विकास र विस्तारमा योगदान पुर्याइरहे । नेकपा मालेका भूमिगत राष्ट्रिय भेला र कार्यक्रममा सहभागी घिमिरे २०४६ सालको भदौमा लाहानमा सम्पन्न चौथो महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी भए । भूमिगत पार्टी जीवनमा विशिष्ट योगदान पुर्याएकै कारण घिमिरे नेकपा माले र एमालेको एकीकरणपछि २०४९ सालको पाँचौ राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा निर्वाचित भए ।

इलाम जिल्लाको सबैभन्दा लामो पार्टी प्रमुख :
इलामका नेता सहिद रत्नकुमार वान्तवाको हत्या भएपछि इलाममा पञ्चायती दमन बर्बर थियो । कम्युनिष्ट पार्टीका नेता वान्तवाको हत्यापछि देशको पूर्वमा उदाउँदै गरेको कम्युनिष्ट आन्दोलनलाई मत्थर पार्ने सपना साकार हुन नदिन प्रदिप नेपाल र झलनाथ खनालले भूमिका निर्वाह गरे । उनीहरु राष्ट्रिय राजनीतिमा आफूलाई स्थापित गर्ने आकांक्षा सहित राष्ट्रिय राजनीतिमा लागेपछि भूगोल बुझेको नेताको रुपमा तत्कालीन मालेले २०३९ सालदेखि घिमिरेलाई इलाम जिल्लाको पार्टी प्रमुखको जिम्मेवारी दियो ।

घिमिरेको राजनीतिक क्रियाशीलताले तर्सिएका पञ्चायती शासकहरुले २०३६ देखि उनलाई वारेन्ट जारी गरे । पञ्चायती दमन, सहयोद्धाहरुको बर्बरतापूर्वक हत्या गर्दासमेत पार्टी नीति र निर्णयलाई सिरोधार्य गर्दै घिमिरेले २०३६ देखि २०४६ सम्म १० बर्ष भन्दा बढी कठिन भूमिगत जीवन पार्टी निर्माणमा बिताए ।

२०५० सालदेखि मेची अञ्चल इन्चार्जको जिम्मेवारी पाएका घिमिरेले सहकर्मीहरुलाई छोड्दा छोड्दै आजसम्म प्रत्यक्ष उम्मेदवार हुन पाएका छैनन् । २०४८ सालको निर्वाचनमा मदन भण्डारीले १ क्षेत्रबाट झलनाथ खनाल र अर्को क्षेत्रबाट देवराज घिमिरेलाई उम्मेदवार बनाउने प्रस्ताव गर्दा जातीय हिसाबले आफू उठ्नुभन्दा जनजाति नेतालाई उम्मेदवारी दिलाएर इलामका दुवै क्षेत्रबाट पार्टीलाई विजयी गराउन घिमिरे सफल भए ।

२०५८ सालमा माधव नेपालले पार्टीको नेतृत्व गरेपछि फरक धारका देवराज घिमिरेलाई भूगोलको राजनीतिबाट जिम्मेवारी हटाएर पार्टीका केन्द्रीय विभागहरुमा इन्चार्जको जिम्मेवारी दिए । घिमिरेले इन्चार्जसीप गरेका स्वास्थ्य विभाग, इन्जिनियरिङ विभाग, युवासंघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्रध्यापक संघले उनको कार्यकालमा अव्वल जनसंगठनको रुपमा परिचालित भए । गुठगत राजनीतिको सिकार बनेका घिमिरले मदन भण्डारी फाउण्डेशनको कार्यालय प्रमुख भएर फाउण्डेशनलाई देशको कुना कुनासम्म विस्तार गर्न योगदान पुर्याए ।

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीका विश्वास पात्र :
देवराज घिमिरेलाई समकालीन राजनीतिमा निष्ठावान र जननेता मदन भण्डारीले पत्याएका नेताका रुपमा चित्रित गरिन्छ । २०४८ सालको निर्वाचनमा आफूले प्राप्त गरेको टिकट समेत जनजाति नेतालाई दिई पार्टीको छवि उच्च बनाएकोमा मदन भण्डारी उनीबाट प्रभावित थिए । त्यसैले मदन भण्डारी महासचिव हुदाँ पार्टीको केन्द्रीय कमिटीमा जिम्मेवारी दिई उनको योगदानलाई सम्मान गरेका थिए । मदन भण्डारीको रहस्यमय हत्यापछि उनको स्मृतिलाई जीवन्त राख्न नेकपा एमालेका केन्द्रीय नेताहरुको अगुवाईमा स्थापना भएको मदन भण्डारी फाउण्डेशनमा कार्यालय प्रमुख भएर जिम्मेवारी निर्वाह गर्नलाई मदनको लिगेसीलाई विद्या भण्डारीले निरन्तरता दिएको रुपमा एमाले वृतभित्र चर्चा गरिन्छ ।

२०७१ सालको नवौँ राष्ट्रिय महाधिवेशनपछि नेकपा एमालेको अध्यक्षमा केपी ओली निर्वाचित भए । निर्वाचित अध्यक्ष ओलीले पार्टीभित्रको विभिन्न धारहरुलाई संयोजन गर्न देवराज घिमिरेलाई नै रोजे । ओलीकै रोजाईमा उनले सचिवालय प्रमुख भएर २०७४ को अन्तिमसम्म केपी ओलीलाई सहयोग पुर्याए । घिमिरेले आफू अध्यक्षको प्रमुख सल्लाहकारको रुपमा रहँदा दिएको सहि सल्लाहले उपयुक्त व्यक्तिले निर्वाचनमा टिकट पाएको र त्यहि आधारमा एमालेको गुमेको लोकप्रियता पुनःस्थापित भएको दाबी गरे ।

नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु एकीकरण भएपछि २०७५ असोज १ देखि नेकपा प्रदेश नं.१ को अध्यक्ष बनेका घिमिरे पूर्ववत अवस्थामा पार्टी फर्किए पनि नेकपा एमालेको अध्यक्षकै रुपमा क्रियाशील छन् ।

पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षको उम्मेदवारी दिएका घिमिरेले वर्तमान राजनीतिलाई सहि दिशामा डोर्याउन र अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग पुर्याउन आफूले उम्मेदवारी दिएको दाबी गर्छन् ।

नेकपा एमालेभित्र बढ्दै गएको मनि र मसलको राजनीतिमा त्यागी र सादगी नेताको रुपमा परिचित देवराज घिमिरेले उपाध्यक्षको जिम्मेवारी पाउलान् वा नपाउलान् त्यो पार्टी अध्यक्ष र महाधिवेशनका प्रतिनिधिहरुको रोजाईले निर्धारण गर्नेछ । यद्यपि घिमिरे जस्ता सालिन र बौद्धिक व्यक्तित्वले एमालेको उपाध्यक्ष जस्तो जिम्मेवारी पाउने हो भने आम कार्यकर्ता र समग्र नेपालीमा राजनीतिप्रतिको दृष्टिकोण सकरात्मक बन्नेमा भने दुविधा देखिदैँन ।

https://www.facebook.com/pariwartankhabar/videos/2093562907462896

प्रतिक्रिया दिनुहोस्