अनलाइन सेवाका नाममा सेवाग्राहीलाई सास्ती



सेवाग्राहीहरूलाई छिटोछरितो सेवा दिने उद्देश्यले मालपोत कार्यालयहरूले सुरु गरेको अनलाइन सेवाले उल्टै सेवाग्राहीहरूलाई सास्ती दिन थालेको छ। अनलाइन सेवा सुरु गरिएका मालपोत कार्यालयहरूमा अनलाइनबाटै जग्गाको स्वामित्व हस्तान्तरणका लागि निवेदन तथा लिखत भर्नुपर्ने व्यवस्था गरिएको छ।

अनलाइनबाट भरिएको निवेदनलाई मालपोत कार्यालयका कर्मचारीहरूले अनलाइनबाटै पास गर्ने व्यवस्था गरिएको छ। तर, भूमि व्यवस्थापन विभागले देशभरका मालपोत कार्यालयमा सुरु गरेको अनलाइन सेवा तथा सफ्टवेयरमा छिटोछिटो समस्या आउने गरेको छ। यहाँसम्म कि सोमबार र बुधबार सफ्टवेयर करिब बन्द जस्तै हुने, बन्द नभए पनि निकै सुस्त हुने सेवाग्राहीको गुनासो छ।

भूमि व्यवस्थापन विभागका अनुसार सबैभन्दा बढी जग्गाको काराबारो सोमबार र बुधबार हुन्छ। सोमबार र बुधबार शुभ दिन मानिएकाले यस दिन जग्गाको कारोबारो बढी हुने लेखापढी व्यावसायीहरू बताउँछन्। ‘जुन दिन जग्गाको कारोबारो बन्द हुन्छ।

त्यसै दिन सफ्टवेयर सुस्त हुन्छ या बन्द नै,’ मालपोत कार्यालय कलंकीमा १५ वर्षदेखि लेखापढी व्यावसाय गर्दै आएका नेत्र पोखरेलले भने, ‘दिनभर एउटा लिखित पास हुँदैन। यसबाट सेवाग्राहीहरूले झनै सास्ती भोगेका छन्।’ उपत्यकाका मालपोत कार्यालयहरूमा सफ्टवेयरमा झनै समस्या आउने गरेको छ। ‘सफ्टवेयर राम्रोसँग चल्यो भने आश्चर्य मान्नुपर्छ,’ भक्तपुर मालपोत कार्यालयका एक सेवाग्राही भन्छन्।

सफ्टवेयरमा समस्या आउँदा एक दिनमा हुने काम दुईतीन दिन लाग्ने गरेको सेवाग्राहीको गुनासो छ। भूमि व्यवस्थापन विभागले दुई वर्षदेखि अनलाइन सेवा प्रारम्भ गरेको हो। विभागका अनुसार मालपोत कार्यालय बाहिर भूसेवा केन्द्रमार्फत लेखापढी व्यावसायीहरूका लागि एलआरआइएमएस ९ल्यान्ड रिकर्ड इनफरमेसन मेनेजमेन्ट सिस्टम० तथा कार्यालयका कर्मचारीहरूका लागि पाम (पब्लिक ऐक्सेस मोडेल) लागु गरेको छ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्