दुई प्रसारणलाइनबाट हात झिक्दै विश्व बैंक



समयमै आयोजना सम्पन्न गर्न नसकेको कारण देखाउँदै विश्व बैंक दुई प्रसारणलाइन निर्माणबाट पछि हटेको छ। विश्व बैंककै सहुलियत ऋण र सरकारको लगानीमा हेटौंडा–ढल्केवर–इनरुवा ४०० केभी र हेटौंडा–भरतपुर–बर्दाघाट २२० केभी प्रसारणलाइन निर्माणाधीन छन्।

उक्त निकाय यही कात्तिक १४ गतेदेखि आयोजनाको ऋण लगानीकर्ताबाट बाहिरिन लागेको विद्युत् प्राधिकरणका प्रसारणलाइन प्रमुख दीर्घायु श्रेष्ठले बताए। श्रेष्ठका अनुसार आयोजनाको पछिल्लो म्याद यही कात्तिक १४ गते सक्किने हुँदा उसले पुनः निरन्तरता नदिने भएको हो।

विश्व बैंकले करिब १ अर्ब ३८ करोड रुपैयाँ सहुलियत ऋण दिएको थियो। यी दुई आयोजनाको कुल लागत करिब ८ अर्ब रुपैयाँ छ। सरकारको लगानी हालसम्म ४ अर्ब रुपैयाँ भइसकेको छ। आयोजनामा लगानी जुटाउने तयारी भइरहेको प्राधिकरण स्रोत बताउँछ।

४०० केभी र २२०र१३२र३३ केभी सबस्टेसनको प्रगति क्रमशः ६५ र ८५ प्रतिशत मात्रै छ। विश्व बैंकसँगको सम्झौताअनुसार ठेक्का लागेको तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपथ्र्यो। हेटौंडा–ढल्केवर–इनरुवा सन् २०११ मा र हेटौँडा–भरतपुर–बर्दाघाट सन् २००८ देखि ठेक्का लागेका आयोजना हुन्। तर, एक दशक बितिसक्दा पनि काम सक्नुको साटो अझै ढिलाइ भएको कारण देखाउँदै विश्व बैंकले हात झिकेको प्राधिकरण स्रोत बताउँछ। यो अवधिमा यी आयोजनामा दुई नयाँ ठेकेदार आइसकेका छन्। यो समाचारअन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्