समिक्षापछि गुनासो गर्दै पलले भने, ‘समिक्षा र मेरो सम्बन्धको गलत समाचारले निकै दुखी भएको छु’



केही समयदेखि सामाजिक सञ्जालमा अभिनेता पल शाह र लोकप्रिय गायिका समिक्षा अधिकारीको प्रेमको खबरले तहल्का नै मच्चाइरहेको छ । आवश्यक भन्दा बढी चर्चा हुन थालेपछि केहीदिन अघिमात्र समिक्षाले फेसबुकमा लामो स्टाटस लेख्दै यसबारे स्पष्टिकरण दिएकी थिइन् । अहिले अभिनेता पलले पनि यसबारे आफ्नो कुरा राखेका छन् ।

पलले यस्ता नचाहिँदा समाचारले आफूलाई निकै दुखी बनाएको बताएका छन् ।

पलले सामाजिक संजालमा स्टाटस लेख्दै केही दिनदेखि समीक्षा र आफ्नो सम्बन्धको विषयमा आएका समाचारले आफूलाई माया गर्ने दर्शक निक्कै दुःखी भएको महसुश आफूले गरेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कही न कही कुनै न कुनै प्रकारले नजिक हुनुपर्छ यो हामी सबैलाई थाहा भएकै कुरा हो । मेरो पेशा र विधाका कारण मैले धेरै मान्छेहरुसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरूमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छ । अरु कलाकारहसँग जस्तै र अरुले जस्तै सांगीतिक सहकार्य गायिका समीक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरुलाई बिदितै छ । हुँदै नभएका, गर्दै नगरिएका, विनाआधारका कुराहरुलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्तिगत जीवनमाथि आँच आउने किसिमले लेखिएका झुटा समाचारहरुले मलाई अत्यन्तै दुःखी बनाएको छ ।’

पलले, कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरी बदनाम गर्ने गरी समाचार नबनाइदिन मिडियासँग आग्रह पनि गरेका छन् । पलले, आफूले जानेर वा नजानेर कसैको चित्त दुखाएको भए माफी चाहन्छु समेत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्