पलसँगको सम्बन्धको विषयमा समिक्षाले भनिन, ‘गलत समाचारले मेरो चरित्र हत्या भएको छ’



केहीदिनदेखि लोकप्रिय अभिनेता पल शाह र गायिका समिक्षा अधिकारीको सम्बन्धलाई लिएर बजारमा निकै हल्ला हुन थालेको छ । विभिन्न सामाजिक सञ्जालमा यी दुईबिच प्रेम रहेको हल्ला बाहिरको छ । यसबारे पल र समिक्षा मौन थिए । तर उनीहरुबारे आवश्यक भन्दा निकै चर्चा र टिकाटिप्पणी हुन थालेपछि समिक्षाले यसबारे स्पष्टिकरण दिएकी छिन् ।

समिक्षाले पल र आफूबिच त्यस्तो कुनैपनि सम्बन्ध नभएको बताएकी छिन् । उनले पल आफ्नो अभिभावक जस्तो भएकाले यस्तो समाचार आउँदा यसले आफूलाई निकै दुखी बनाएको समेत उल्लेख गरेकी छिन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै समिक्षाले पल र आफ्नो विषयमा लेखिएको हुदैँ नभएको समाचारले आफ्नो चरित्र हत्या भएको गुनासो पोखेकी छिन् ।

उनले यस्तो अफवाहले आफ्नो मात्र नभएर पलको समेत करियरमा असर परेकाले सत्यतथ्य नबुझी अनावश्यक समाचार नलेख्नको लागि सबैलाई आग्रह समेत गरेकी छिन् ।

यस्तो छ समिक्षाको पुरा स्टाटस :

नमस्कार, 
मलाई समीक्षा अधिकारी बनाउनु हुने मेरा सम्पूर्ण दर्शक श्रोताज्यूहरुमा हार्दिक नमन गर्दछु । पछिल्लो समय मेरो बारेमा नायक पल शाहज्यूसँग जोडेर हुँदै नभएको कपोकल्पित समाचारहरु आएका छन् । यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मिडियामा आएका छन् । जसले मेरो चरित्र हत्या भएको छ । यसका साथसाथै पलजीको करिअरमाथि आँच आउने किसिमले सस्तो प्रचारबाजी गरिएका छन् । यसो नगर्नु हुन अनुरोध गर्दछु । बिना स्रोत अफवाहमा लेखिएका यी समाचारले हामीलाई सामाजिक र चारित्रिक रुपमा निकै नै असर पुर्याएको छ, यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौँ ।
एउटै इण्डस्ट्रीजमा भएको हिसाबले पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ, जुन माया उहाँले आफूसँग जोडिएका सबै सहकर्मीहरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ । मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ । म उहाँको सदैव फ्यान पनि हुँ, र हामीबीचमा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको र हामी केवल साथमा काम गरिरहेको छौँ र हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौँ । राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरुले पनि यसरी मानहानी र चरित्रहत्या हुने किसिमले लेखिएका समाचारले निकै दुखी छु । मैले यो अपेक्षा गरेको थिइनँ । 
म जे छु, जहाँ छु यो सब मेरा भगवानरुपि दर्शक श्रोताको देन हो र हजुरहरुलाई कुनैपनि कुराले निराश गर्न सक्दिनँ र गर्ने छैन । मेरो बारेमा मिडियामा आएका झुटा समाचारप्रति घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडि नलाग्नु हुन हार्दिक अनुरोध गर्दछु । अन्त्यमा सम्पूर्ण पत्रकारज्यूहरुलाई पनि हार्दिक निवेदन गर्न चाहन्छु कसैको व्यक्त्तिगत जीवनमा आँच आउने मानहानी तथा चरित्र हिन हुने किसिमको समाचार नबनाउनु होला । 
सबैलाई धेरै धेरै माया

प्रतिक्रिया दिनुहोस्