दोस्रो पटक वैवाहिक बन्धनमा बाधिए चर्चित हाँस्य कलाकार मनोज गजुरेल, बधाई दिनेको ओइरो



दर्शकमाझ बहुचर्चित हाँस्य कलाकार मनोज गजुरेल दोस्रो पटक वैवाहिक बन्धनमा बाधिएका छन् ।

४ बर्ष अघि मिना ढकालसँग सम्बन्धविच्छेद भएपछि उनी एक्लो जीवन बिताइरहेका थिए । यसैबिच हालैमात्र उनले मञ्जु पोखरेलसँग दोस्रो विवाह गरेका छन् । जो नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन् ।

मनोजले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै यसबारे जानकारी दिएका हुन् । योसँगै मनोजलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो नै लागेको छ । हाम्रो तर्फबाट पनि मनोजलाई धेरै धेरै बधाई ।

उनले विवाहबारे जानकारी गराएको स्ट्याटस यस्तो छ :

आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी !

जीवन सधैँ सरल रेखामा नहिँड्ने रहेछ । मेरो लामो वैवाहिक जीवन ४ वर्ष पहिले ​कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ । 

जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुबै अवस्थामा साथ दिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो । यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिवेश र उस्तै खालको भोगाइबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।

एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्याैं । अगाडि आइपर्ने सु:ख/दु:खलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियाैं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतिले पनि ठूलो मद्दत गर्यो । सम्पुर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ- कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला । मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तिका लागी परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला !

कसैको निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जाेड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविष्यको योजनाका बारेमा अनुमानकारिता नगर्नुहुन पनि अनुरोध गर्दछु । त्यसैगरी हाम्रो नितान्त व्यक्तिगत मामिलाका बारेमा अनावश्यक सामग्री बनाउने कानुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरापनि जोडदार रुपमा जाहेर गर्दछु ।

विगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको छ । त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ- कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला । सामाजिक सन्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गंभिर असरलाई पनि महशुस गर्नुहोला ।

अन्त्यमा, पुनः सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरुलाई यो सुखद जानकारी गराउछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवकाे दर्शन गर्यौँ । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ । अनि, सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेकाछौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद 

नवदुर्गा भवानीले सबैको रक्षा गरुन् । बडादशैँको हार्दिक शुभकामना

प्रतिक्रिया दिनुहोस्