‘म नेपालको अमिताभ बच्चन भैसकेँ’ : लक्ष्मी गिरी



लक्ष्मी गिरी कलाकारिता जगतकी नाम चलेकी कलाकार हुन् । विशेष उनको अभिनयलाई दर्शकले सर्वाधिक रुचाउने गरेका छन् । अधिकांश चलचित्र, सिरियलमा दर्शकले उनको छुच्चो क्यारेक्टर नै देख्ने गरेका छन् । त्यसैले केही दर्शक उनी वास्तवमा पनि त्यस्तै खालकी छिन् कि भन्ने अड्कल काट्ने गर्छन् ।

वास्तविक जीवनमा पनि उनी मनमा लागेका कुरा बिना हिचकिटाहट भन्ने गर्छिन् । यसैबिच उनले नेपाली चलचित्र क्षेत्रमा महिला र पुरुषविच पारिश्रमिकको बिषयमा हुने विभेदमा असन्तुष्टि जनाएकी छिन् ।

उनले भनिन्–‘अहिले पनि दिदीलाई ६० हजार भन्दै अफर गर्छन् । तर, म मान्दिनँ । म त नेपालको अमिताभ बच्चन भैसकेँ, १ लाख पारिश्रमिक दिनुहोस् भन्छु ।’

लक्ष्मीले महिला कलाकारहरुले असाध्यै खटेर काम गर्दा पनि पारिश्रमिकमा विभेद भएको बताइन् । उनले भनिन्–‘यो पहिलेदेखि नै चलिआएको हो । राजेश हमालले भन्दा करिश्मा मानन्धरले धेरै काम गर्थिन् । तर, हमाललाई ४ लाख दिएर करिश्मालाई २ लाख पारिश्रमिक दिइन्थ्यो ।’

आफूहरुले सो समयमा पैसाको लागि भन्दा पनि नामको लागि काम गरेको लक्ष्मी बताउँछिन् । भन्छिन्–‘हामी महिलाहरु निक्कै नै भावुक हुन्छौं । निर्माता बाँचे भने हामी पनि बाच्ने हो भन्ने सोच हामीमा हुन्छ । यसैले, पनि हामीले पारिश्रमिकमा जहिले सम्झौता गर्यौं ।’

तर अहिले भने लक्ष्मीले पारिश्रमिकको लागि आफूले कहिल्यै सम्झौता नगर्ने बताएकी छिन् । आफ्नो डिमाण्ड अनुसार पारिश्रमिक दिए काम गर्ने नत्र काम नै नगर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्