निर्मला हत्या प्रकरण : तीन वर्षसम्म टुंगिएन अनुसन्धान, यथेष्ट प्रमाणकै खोजीमा प्रहरी



बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या भएको तीन वर्ष पूरा भएको छ। तीन वर्षको अवधिमा अनुसन्धानका लागि थुप्रै अनुसन्धान अधिकृत परिवर्तन भए तर प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन सकेको छैन। तीन वर्ष बितिसक्दासमेत प्रहरी यथेष्ट प्रमाणकै खोजीमै छ।

अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेको नेतृत्वमा अनुसन्धान चलिरहेको एसपी उमाप्रसाद चतुर्वेदीले बताए। ‘हामी इमान्दारिताका साथ अनुसन्धान गरिरहेका छौं’, उनले भने, ‘अहिले पनि हामी सूक्ष्म रूपमा अनुसन्धान गरिरहेका छौं, ढिलो भए पनि प्रहरीको अनुसन्धान सफल हुन्छ।’

जिल्ला प्रहरी कार्यालयका मात्रै होइन, केन्द्रीय अनुसन्धान ब्युरो र प्रदेश प्रहरीको टोलीले पनि घटनाको अनुसन्धान गरिरहेको छ। ‘अनुसन्धान निष्कर्षमा पुग्न यथेष्ठ प्रमाण प्राप्त हुन सकेको छैन’, एसपी चतुर्वेदीले भने, ‘हामी बलियो प्रमाणको खोजीमा छौं।’

उनले शंकास्पद केही व्यक्तिलाई निगरानीमा राखिएको समेत बताए। निर्मला घटनालाई पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ। चतुर्वेदी निर्मला घटनाबारे विगतमा केन्द्रीय अनुसन्धान ब्युरोबाट अनुसन्धानका लागि आएका थिए।

उता निर्मलाका बुवा यज्ञराज पन्तले सास रहुन्जेल न्यायको आश नर्मने बताए। ‘जबसम्म सास छ, तबसम्म त न्यायको आश रहन्छ नै’, उनले भने, ‘अहिले सरकार फेरिएको छ, न्याय दिलाउँछु भन्ने नेताहरू पनि सरकारमा छन्, अब न्याय पाइएला कि भन्ने आशा पलाएको छ।’

निर्मला प्रकरणको सुरुदेखि आन्दोलनमा रहेका नागरिक समाजका सचिव नरबहादुर साउदले निर्मला पन्तले न्याय पाउनुपर्ने बताए। ‘अहिले सरकार परिवर्तन भएको छ, न्याय पाउने आश छ हामीलाई’, उनले भने, ‘अहिलेको सरकारलाई पनि ध्यानाकर्षण गराउन प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएका छौं।’

२०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा निर्मलाको शव फेला परेको थियो। घटना भएको एक महिनापछि भदौ ४ गते जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका–१९ बागफाँटाका मानसिक अवस्था ठीक नभएका दिलिप विष्टलाई सार्वजनिक गरेपछि निर्दोषलाई फसाउन खोजिएको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो। आन्दोलनकै क्रममा भीमदत्त नगरपालिका–१८ सालघारीका शनि खुनाको ज्यान गएको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्