बाढी पिडितलाई राहत बाँड्न सिन्धुपाल्चोक पुगे महानायक राजेश हमाल



केहीसमय अघि सिन्धुपाल्चोकको इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरी तहसनहस बनाएको थियो । बाढीका कारण नै सयौँ घर विस्थापित भए भने धेरै मानिस अलपत्र समेत पर्न गए । यसबिच नेपाली सिने जगतका कलाकारहरु सक्रिय रुपमा समस्यामा परेकाहरुको सहयोगमा जुटिरहेका छन् ।

सिन्धुपाल्चोकका बासिन्दाको पीडामा मलहम लगाउन अभिनेता राजेश हमाल पनि अगाडि सरेका छन् । राहत बाँड्ने उद्देश्यले सोमवार सिम्रिक एयरको हेलिकप्टरमा सवार भएर हेलम्बु र पाँचपोखरी पुगेका उनलाई स्थानीयहरुले भव्य स्वागत गरेका थिए । बाढी पीडितको अवस्थाबारे जानकारी लिँदै उनले त्यहाँका बाढी प्रभावितलाई सोलार, स्वास्थ्य सामाग्री र नगद पनि सहयोग गरे ।

हेल्प अर्गनाइजेसन र विआइए संस्थाको सहकार्यमा राहत बाँड्न हमाल सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्र पुगेका हुन् । यसबारे स्वयमले राजेशले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । ढिलो गरी भए पनि बाढी पीडितका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेकोमा उनलाई सामाजक सञ्जालमा शुभचिन्तकहरुले धन्यवाद भनेका छन् ।

राजेशसँगै आँचल शर्मा, स्वेता खड्का, पूजा शर्मा, पल शाह लगायतका कलाकारहरु पनि निरन्तर रुपमा सहयोगमा लागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्